स्याङ्जा।
स्याङ्जाको फेदीखोला गाउँपालिकामा मौरीपालन व्यवसायलाई क्यूआर कोडमार्फत अनुगमन सुरु गरिएको छ । मौरीपालनको सम्भावना बढ्दै गएपछि गाउँपालिकाले प्रविधिको प्रयोगबाट अनलाइन प्रणालीमार्फत घारको अवस्था, उत्पादन र रोगको निगरानी स्वरुप अनुगमन थालेको हो ।
डिजिटल सूचना प्रविधि भूमिसेवा नेटवर्क ‘बी.भूमि.अर्थ’ प्रणालीमार्फत संचालन गरिएको क्यूआर कोड जिल्लाकै आँधीखोला गाउँपालिकाका मदन पौडेलले विकास गरेका हुन् । गाउँपालिकाले कृषकलाई अनुदानमा उपलब्ध गराएको मौरीका घारमा क्यूआर कोड जडान गरेपछि डिजिटल अनुगमन गर्ने कार्यलाई संचालनमा ल्याएको छ ।
कृषकले पठाउने मौरीसहित घारको तस्बिर र परिक्षणका लागि क्युआर कोड स्क्यान गरेपछि कोडमार्फत घारको अनुगमन गरिने गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए । घारको अवस्थादेखि रोगको जोखिम, उत्पादनको वर्तमान अवस्था तथा गोला टुक्राउने समय सिमाबारे जानकारी क्यूआर कोड सूचना प्रविधिबाटै प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।
‘मौरीपालनलाई आधुनिक र व्यवस्थित बनाउँदै कृषकलाई सुरक्षित र आत्मनिर्भर बनाउने उद्देश्यले कोड स्क्यान प्रणाली लागू गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले हालसम्म ७० प्रतिशत अनुदानमा झन्डै एक हजार मौरीका घार वितरण गरेको छ भने कृषकले आफ्नै लगानीमा करिब दुई हजार गरी झन्डै तीन हजार घारमा मौरीपालन गरिँदै आएको छ ।
एक वर्षअघि २४ जना कृषकलाई प्रतिव्यक्ति २५ घारका दरले मौरी वितरण गरेको फेदीखोलामा सेरेना मौरी समूह गठन गरिएको थियो । चार वटा समूहमार्फत पछिल्लो समय एक सय २० जना कृषकले व्यावसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । गाउँपालिकाका अनुसार अनुकूल हावापानी, प्रशस्त चरन क्षेत्र र वनस्पतिको उपलब्धताले मौरीपालन विस्तार हुँदै गएको छ ।
आगामी वर्षदेखि ‘एक किसान, कम्तीमा एक घार मौरी’ भन्ने अवधारणालाई अघि बढाउने तयारी गरिएको अध्यक्ष सुवेदीले जनाए । उनका अनुसार मौरीपालन व्यवसायलाई ग्रामीण रोजगारी, उद्यमशीलता र आयआर्जनको भरपर्दो आधारका रूपमा विकास गर्ने लक्ष्य बनाइएको छ ।
गाउँपालिकाले विद्यालयस्तरमै विद्यार्थीलाई मौरीपालनबारे जानकारी गराउन ‘एक विद्यालय, एक उद्यम’ कार्यक्रममार्फत ९ विद्यालयमा मौरीपालन गतिविधि संचालन गर्दै आएको छ । विद्यालयसँगै सहकारीमार्फत मौरीसहितको घार उद्योग स्थापना, महको बजारीकरण, स्थानीय उत्पादनको प्रवर्द्धन, कोसेली घर संचालन तथा चरन क्षेत्र संरक्षण र विकासका कार्यक्रम अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
४० घार मौरीबाट पछिल्लो एक वर्षको अवधिमा ४० वटा नयाँ घार बिक्री गर्नुका साथै करिब दुई सय किलो मह र महका चाका बिक्री गरेकी स्थानीय मौरीपालक तथा होमस्टे संचालक खरीकुमारी गुरुङ्ले झन्डै आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिइन् । मौरीपालन व्यवसाय सजिलो र आम्दानीको राम्रो श्रोत भएको गुरुङ्ले बताइन् ।
मौरीपालक कृषक समूहका अध्यक्ष उजिरबहादुर केसीले फेदीखोलाको वातावरण मौरीपालन अनुकूल भएकाले मेहनत गर्ने मौरीपालक कृषक खाली हात बस्न नपर्ने जनाए । उनका अनुसार पछिल्लो समय गाउँपालिकाभित्र करिब दुई सय परिवारको मुख्य आम्दानीको स्रोत मौरीपालन व्यवसाय बन्दै गएको छ ।











प्रतिक्रिया