लमजुङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

188
Shares

लमजुङ।

लमजुङ जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । जिल्ला पूर्णखोप समन्वय समितिको आयोजनामा आइतबार बेसीशहरस्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजित विशेष कार्यक्रममा औपचारिक रुपमा घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत आवश्यक सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि वडा, स्थानीय तह हुँदै जिल्लास्तरमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

उपलब्ध तथ्याङ्कअनुसार जन्मेदेखि १५ महिनासम्मका एक हजार ७ सय ५६ जना बालबालिकाले नियमित खोप सेवा प्राप्त गरेका छन् । यस्तै, १६ देखि ५९ महिनासम्मका चार हजार ६ सय ९९ बालबालिकामध्ये प्रारम्भिक सर्वेक्षणका क्रममा खोप छुट भएका चार जना बालबालिकालाई समेत बाँकी खोप लगाइएपछि जिल्लाका सबै लक्षित बालबालिका पूर्ण रुपमा खोपको पहुँचमा पुगेका छन् ।

कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख तथा जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिव शैलेन्द्रकुमार सिंहले जिल्लाको खोपसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै हाल कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नरहेको जानकारी दिनुभयो । उहाँले पूर्ण खोप सुनिश्चिततासँगै यसको दिगोपना कायम राख्नु अबको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख पूर्णबहादुर गुरुङले बालबालिकाको स्वास्थ्य संरक्षणका लागि खोप कार्यक्रम अत्यन्त प्रभावकारी रहेको बताउँदै घोषणा मात्र नभई यसको निरन्तरता र दिगोपनामा सबै पक्षले समान जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल तथा प्रादेशिक जनस्वास्थ्य केन्द्रका खोप अधिकृत एकनारायण लमसालले लमजुङले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै पूर्ण खोप सुनिश्चितता हासिल गरेकोमा शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँहरुले आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपबाट वञ्चित नहुने वातावरण कायम राख्न आग्रह गर्नुभयो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, बेसीशहर, राइनास र सुन्दरबजार नगरपालिकाका प्रमुख, मस्र्याङ्दी, दोर्दी र दूधपोखरी गाउँपालिकाका अध्यक्ष, विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागीहरुले पूर्ण खोपको दिगोपना कायम राख्ने सामूहिक प्रतिबद्धतापत्रमा हस्ताक्षरसमेत गरेका थिए ।

सोही अवसरमा जिल्लाका आठवटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनासम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो । साथै स्वास्थ्य सेवामा दीर्घकालीन योगदान पु¥याई सेवा अवधि पूरा गरेका २२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका अहेव कमल वलीले गर्नुभएको थियो।