न्युरोडको कर्नर पोइन्ट रेस्टुरेन्टलाई २ लाख १ हजार जरिवाना


काठमाडौँ।

काठमाडौँको न्युरोडस्थित कर्नर पोइन्ट रेस्टुरेन्ट एन्ड बार प्रालिलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड उल्लंघन गरेको भन्दै दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार असार १९ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा रेस्टुरेन्टमा विभिन्न कैफियत भेटिएका थिए।

अनुगमनका क्रममा प्रयोगमा रहेको तेलको टोटल पोलार मेटेरियल (TPM) मात्रा २२ प्रतिशत पाइएको, म्याद नाघेको फ्रुट सिरप (स्क्वास) प्रयोग गरिएको, पिज्जा बेसमा प्रयोग हुने तेलमा मरेको साङ्लो भेटिएको तथा फ्रिजमा खाद्यवस्तु अव्यवस्थित रूपमा भण्डारण गरिएको पाइएको विभागले जनाएको छ। यद्यपि रेस्टुरेन्टको सरसफाइ अवस्था भने सामान्य रहेको उल्लेख गरिएको छ।

उक्त कैफियतका आधारमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार रेस्टुरेन्टलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरेको हो।

साथै, म्याद नाघेको तथा पूर्ण लेबल विवरण नभएको २० बोतल स्क्वास नष्ट गरिएको छ। विभागले रेस्टुरेन्टलाई सबै कमजोरी सुधार गरी ३० दिनभित्र प्रमाणसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार नियमित रूपमा खाद्य व्यवसायहरूको अनुगमन जारी रहने जनाएको छ।