२०औं एसियाडमा उत्रंदै नेपाली एथ्लेटिक्सका ६ आशाका किरण

0
Shares

सन् १९५१ को नयाँ दिल्ली एसियाली खेलकुदको उद्घघाटन संस्करणदेखि नै रातो सिन्थेटिक ट्रयाकमा नेपाली एथ्लिटहरूले आफ्नो रगत र पसिना बगाउन थालेका हुन् । तर, सात दशकभन्दा बढी समय बितिसक्दा पनि एउटा नमीठो र कठोर सत्य सधैँ अडिग रह्यो । एसियाली खेलकुदको एथ्लेटिक्सतर्फ नेपालले अझैसम्म एउटै पनि पदक आफ्नो नाममा दर्ता गर्न सकेको छैन । सन् १९७३ र १९७५ को एसियाली एथ्लेटिक्स च्याम्पियनसिपमा जितबहादुर केसीले जितेको ऐतिहासिक कांस्य पदक होस् वा २०१९ को एसियाली युथ एथ्लेटिक्समा अजितकुमार यादवले रचेको ऐतिहासिक स्वर्ण होस्, वा २०२२ को एसियाली क्रस कन्ट्रीमा दीपक अधिकारीले देखाएको अभूतपूर्व चामत्कारिक प्रदर्शन, यी सफलताहरूले नेपाली धावकहरूको मुटुमा विजयको अदम्य क्षमता छ भन्ने प्रमाणित त गरे, तर एसियाडको पोडियम भने नेपाली झण्डा सधैँ टाढाको क्षितिज बनिरह्यो ।

१८औँ एसियाडमा सोमबहादुर कुमालले ८ सय मिटरमा राष्ट्रिय कीर्तिमान कायम गर्दा होस् वा विभिन्न संस्करणमा एथ्लिटहरूले आफ्नो जीवनकै उत्कृष्ट समय निकाल्दा होस, ती क्षणहरूले पदक नजिते पनि देशको स्वाभिमानलाई भने जताततै जीवितै राखेका थिए । आज फेरि इतिहासको त्यो पर्खाल भत्काउन र नेपाली खेलकुदको नियति बदल्न छ जना प्रतिबद्ध एथ्लीट्स, चार पुरुष र दुई महिला जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि आफूलाई पूर्ण रूपमा तयार पारिरहेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्रयाकमा दैनिक दुई पटक पोखिने उनीहरूको पसिना केवल तालिमको हिस्सा मात्र होइन, वर्षौँदेखि गुम्सिएको राष्ट्रिय सपनाको चित्कार र नयाँ इतिहास लेख्ने अदम्य साहसको प्रतीक हो ।


‘मिसन २०२६’ अन्तर्गत विगत तीन वर्षदेखि मुख्य प्रशिक्षक उत्तम खत्रीको कठोर मार्गदर्शनमा बन्द प्रशिक्षणमा रहेका यी धावकहरूका लागि यो प्रतिस्पर्धा केवल पदकको दौड मात्र होइन, आफ्नै कीर्तिमानहरूसँगको भीषण युद्ध र एसियाका सर्वोत्कृष्ट धावकहरूसँग जुधेर देशको अस्तित्व उच्च राख्ने अन्तिम परीक्षा हो । सीमित साधन–स्रोत, पूर्वाधारको चुनौती र अन्तर्राष्ट्रिय स्तरको ठूलो दूरीका बाबजुद छातीभित्र बलेको असीम राष्ट्रप्रेम र जीतको तिर्खाले उनीहरूलाई दिनप्रतिदिन तिखारिरहेको छ । नेपाली सेनाका प्रतिबद्ध धावक खड्कबहादुर खड्काको कथा आफैँमा अदम्य साहस र निष्ठाको एउटा प्रेरक गाथा हो ।

जाजरकोटको विकट पाखाबाट सुरु भएको उनको जीवनयात्रा ११ वर्षसम्म नेपाली सेनामा केवल एउटा सिपाहीका रूपमा बित्यो । खेलकुदको प्राविधिक ज्ञानविहीन अवस्थामै दौडको दुनियाँमा पाइला टेकेका खडकले पछि सिधै म्याराथनलाई आफ्नो जीवनको लक्ष्य बनाए । अहिले २ घण्टा १८ मिनेटको समयलाई घटाएर २ घण्टा १५ मिनेटको दायरामा ल्याएका खडक, नेपालका महान् धावक बैकुण्ठ मानन्धरले सन् १९८७ को कोलकाता दक्षिण एसियाली खेलकुदमा कायम गरेको २ घण्टा १५ मिनेट ०३ सेकेण्डको ३९ वर्ष पुरानो कीर्तिमान भत्काउने दाउमा छन् । १९औँ एसियाडमा कांस्य पदक विजेताको समय २ घण्टा १३ मिनेट ३९ सेकेण्ड रहेको तथ्यलाई हेर्दा, अनुकूल मौसम र स्वास्थ्यले साथ दिएमा खडकले मानन्धरको कीर्तिमान तोड्दै पदकको ऐतिहासिक ढोका उघार्ने सम्भावना प्रबल देखिन्छ ।


त्यस्तै, टोलीकी अर्की खम्बा र नेपाली एथ्लेटिक्सकी ‘गोल्डेन गर्ल’ सन्तोषी श्रेष्ठको यात्रा कुनै पनि विभाग वा संस्थागत संरक्षण बिना आफ्नै बलबुतामा रचिएको एउटा अभूतपूर्व क्रान्ति हो । सन् २०१९ को १३औँ दक्षिण एसियाली खेलकुदमा १० हजार मिटरमा ऐतिहासिक स्वर्ण जितेकी सन्तोषीले हाफ म्याराथनमा १ घण्टा १४ सेकेण्ड र जर्मनीको पाडरर्बन इस्टर रनमा ३४ मिनेट ३१ सेकेण्डको कीर्तिमानी दौड पूरा गर्दै आफ्नो क्षमता सिद्ध गरिसकेकी छन् । यस पटक ५ हजार (राष्ट्रिय कीर्तिमान १६ मिनेट ३६.६१ सेकेण्ड) र १० हजार मिटर (राष्ट्रिय कीर्तिमान ३४ मिनेट ४७.७७ सेकेण्ड) मा चुनौती पेस गर्न लागेकी सन्तोषी दुवै विधामा आफ्नै राष्ट्रिय कीर्तिमान ध्वस्त पार्ने तयारीमा छिन् ।
पुरुष ८ सय मिटरमा नेपालको आशा बोकेका भेट्रान धावक सोमबहादुर कुमाल आफ्नो तेस्रो एसियाडमा अझ परिपक्व र घातक रूपमा प्रस्तुत हुँदैछन् । सन् २०१८ को जाकार्ता एसियाडमा १ मिनेट ५०.२५ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएका सोमले पछिल्लो समय अभ्यासका क्रममा १ मिनेट ४९ सेकेण्डको हाराहारीमा समय निकालिरहेका छन् । गत संस्करणको एसियाडमा १ मिनेट ४८.५१ सेकेण्डमा कांस्य पदक तय भएको गणितलाई नियाल्दा, सोमको पदक जित्ने सम्भावना निकै प्रबल देखिन्छ । अर्का युवा धावक मुकेशबहादुर पाल, जसले हालै २५ वर्ष पुरानो ३ हजार मिटरको राष्ट्रिय कीर्तिमान तोडेका छन्, उनले १५ सय र ५ हजार मिटरमा चुनौती दिँदैछन् । सन् १९९३ देखि गोपबहादुर अधिकारीको नाममा रहेको ३ मिनेट ४६.६३ सेकेण्डको ३३ वर्ष पुरानो १५ सय मिटरको कीर्तिमान तोक्ने अठोट बोकेका मुकेश भन्छन्, “सरकारले हामीमाथि गरेको लगानीको ऋण चुक्ता गर्न म ट्रयाकमा रगत र पसिनाको अन्तिम थोपासम्म बगाउनेछु ।”
नेपाली सेनाकै अर्का प्रतिभावान धावक राजन रोकाय पुरुष १० हजार मिटर र फुल म्याराथनमा आफ्नो सम्पूर्ण सामथ्र्य झोस्न तयार छन् । गत एसियाडमा दीपक अधिकारीले कायम गरेको २९ मिनेट ३५ सेकेण्डको राष्ट्रिय कीर्तिमानलाई दृष्टिगत गर्दै राजन आफ्नो टाइमिङ सुधार्न रातदिन एकाग्र छन् । अर्कोतर्फ पहिलो पटक एसियाडको ठूलो मञ्चमा पाइला टेक्न लागेकी महिला धावक पूर्णलक्ष्मी न्यौपाने १५ सय र ५ हजार मिटरमा आफ्नो जीवनकै उत्कृष्ट समय निकाल्ने लक्ष्यका साथ अघि बढेकी छन् । सन्तोषी श्रेष्ठकै नाममा रहेको ४ मिनेट २७.३५ सेकेण्डको १५ सय मिटरको राष्ट्रिय कीर्तिमानलाई पछ्याइरहेकी पूर्णलक्ष्मीको उपस्थितिले महिला टोलीमा नयाँ ऊर्जा थपेको छ । दशरथ रंगशालाको रातो ट्रयाकमा बिहानको पहिलो किरणसँगै सुरु हुने र साँझको धमिलो प्रकाशसम्म जारी रहने उनीहरूको कठोर अभ्यासले नेपालको दशकौँ पुरानो पदकको खडेरी अन्त्य हुने बलियो संकेत गरेको छ ।

आइची–नागोयाको प्रतिस्पर्धा केवल छ जना एथ्लिटको व्यक्तिगत यात्रा मात्र होइन, करिब साढे तीन करोड नेपालीको सामूहिक स्वाभिमान, वर्षौँको असम्भवलाई सम्भव बनाउने राष्ट्रिय संकल्पको महासंग्राम पनि हो । जब पाल, रोकाय, खड्का, कुमाल, श्रेष्ठ र न्यौपाने ट्रयाकको ‘स्टार्टिङ ब्लक’ मा उभिनेछन्, उनीहरूका पछाडि सात दशकको इतिहास र सम्पूर्ण देशको प्रार्थना हुनेछ । उनीहरूको प्रत्येक कदममा नेपाली मुटुको ढुकढुकी गुञ्जिनेछ । जित वा हार आफ्नो ठाउँमा होला, तर इतिहासको पानामा आफ्नै कीर्तिमान भत्काउँदै पदकको शिखर चुम्नका लागि यो टोलीले जुन अदम्य आँट र समर्पण देखाएको छ, त्यसले नेपाली एथ्लेटिक्सको नयाँ र स्वर्णिम बिहानीको सुरुवात भइसकेको पुष्टि गर्छ ।