खोटाङका दुई सडक कालोपत्रेको योजना अधुरै

282
Shares

खोटाङ। 

 खोटाङका दुई सडकखण्ड कालोपत्रेको योजना अधुरै रहने भएको छ । ढिलाशुस्तीका कारण नुन्थला–कुभिण्डे–हरमटार हुँदै ऐसेलुखर्क जोड्ने सडक कालेपत्रेको कार्य समयमा सम्पन्न हुन नसकेको हो । यस्तै, हुर्लुङ–जालपा–सप्तेश्वर हुँदै बाक्सिला जोड्ने सडक कालोपत्रे योजना पनि अधुरै रहने भएको हो ।

कोशी प्रदेश सरकारको बजेटमा दुवै सडक कालोपत्रेको काम यही असार १५ गतेभित्र सक्नेगरी सम्झौता भएको थियो । कालोपत्रे गर्ने भनिएको सडकमा अन्य सबै कार्य सम्पन्न भए पनि अन्तिम चरणमा पुगेपछि काम रोकिएको हो । बिसीपीसी–पिकेबी जेभीले ठेक्का लिएको योजनामा कालोपत्रे लगाउन तयार गरिए पनि म्याद र मौसमका कारण काम रोकिएको पूर्वाधार विकास कार्यालय खोटाङका ईन्जिनियर बिनम दाहालले बताउनुभयो ।

दुई करोड ३८ लाख ३८ हजारमा नुन्थला–जौबारी–कुभिण्डे–हरमटार सडकको २२ सय मिटर खण्डमा कालोपत्रे गर्नेगरी काम सुरु गरिएको थियो । यस्तै दुई करोड ५३ लाख ५४ हजारमा हुर्लुङ–जालपा २५ सय मिटर पिच गरिने सम्झौता गरिएको थियो । गत बैशाख ३ गते दुवै सडकको कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो ।

हालसम्म नुन्थला–जौबारी–कुभिण्डे–हरमटार सडकमा १८ प्रतिशत र हुर्लुङ–जालपा–सप्तेश्वर –बाक्सिला सडकको प्रगति १३ प्रतिशत मात्रै पुरा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सम्झौता अनुसार ड्रेन, रिटर्नीङवाल, कजवे, सबबेस, ज्ञाबिनजाली, ढलान लगायतको काम सकिएको छ । तर, बेश राखेर कालोपत्रे हाल्ने कार्य नसकिएको हो । करिब महिना दिनको काम बाँकी रहँदा नियमित बर्षाका कारण ठेकेदारले कालोपत्रे हाल्ने काम रोकेको हो । समयमै बिटोमिन ल्याउन नसकिएको कारण कालोपत्रेको काम नसएिको निर्माण व्यवसायीको भनाई छ ।।