काठमाडौं।
सानिमा बैंक लिमिटेड र स्ट्यान्डर्ड चार्टर्ड बैंक भारतले भारतीय रुपैयाँ (INR) सम्बन्धी सीमापार भुक्तानी कारोबारका लागि अत्याधुनिक एपीआई (API) आधारित भुक्तानी प्रणाली सुरु गरेको घोषणा गरेका छन्।
यो साझेदारीसँगै सानिमा बैंक एपीआई कनेक्टिभिटीमार्फत सीमापार भुक्तानी सेवा सञ्चालन गर्ने नेपालकै पहिलो बैंक बनेको छ।
नयाँ प्रणाली लागू भएपछि हाल प्रयोग हुँदै आएको म्यानुअल तथा ब्याच-आधारित प्रक्रिया विस्थापित भई वास्तविक समयमा (रियल टाइम) स्वचालित भुक्तानी सेवा उपलब्ध हुने बैंकहरूले जनाएका छन्।
दुवै बैंकबीच अमेरिकी डलर (USD) भुक्तानीका लागि समेत एपीआई आधारित प्रणाली विस्तार गर्ने तयारी भइरहेको छ, जसले सीमापार वित्तीय सहकार्यलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत (सीएफओ) निरज ढकालले यस पहलले सीमापार बैंकिङ सेवालाई अझ छिटो, सुरक्षित, सरल र भरपर्दो बनाउने बताए। उनले यसले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई सहज बनाउँदै ग्राहक अनुभवमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख वित्तीय संस्थागत प्रमुख राजकमल बस्नेतले यो सहकार्य स्ट्यान्डर्ड चार्टर्डको सीमापार विशेषज्ञता र सानिमा बैंकको प्रविधिमैत्री एपीआई समाधानको संयोजन भएको बताए। उनका अनुसार यस प्रणालीले अन्तर्राष्ट्रिय कारोबारमा समय र लागत घटाउने, पारदर्शिता बढाउने तथा सुरक्षा र अनुपालन सुदृढ गर्नेछ।
सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जारी गरेको प्रेस विज्ञप्तिमा यो कदमलाई बैंकको नवप्रवर्तन र डिजिटल बैंकिङ विस्तारतर्फको महत्वपूर्ण उपलब्धि रूपमा उल्लेख गरिएको छ।











प्रतिक्रिया