मंसिर मसान्तसम्मको दाबी भुक्तानी सम्पन्न, स्वास्थ्य सेवा नरोक्न स्वास्थ्य बीमा बोर्डको आग्रह


काठमाडौं ।

स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई कुल रु. २३ अर्ब ४४ करोड २ लाख ९८ हजार १६ रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार यससँगै २०८२ साल मंसिर मसान्तसम्मका सबै दाबी भुक्तानी फर्छ्योट भइसकेका छन्।

बोर्डले मंसिरपछिका दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्थापन तथा दिगो वित्तीय स्रोत सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय र पहल जारी रहेको जनाएको छ। साथै, सेवा प्रदायक स्वास्थ्य संस्थालाई बीमित नागरिकको उपचारमा कुनै अवरोध नगरी निर्धारित मापदण्डअनुसार निरन्तर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

त्यसैगरी, बोर्डले बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा सेवाको जिम्मेवारीपूर्वक सदुपयोग गर्न, अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न तथा स्वास्थ्य बीमा कार्यक्रमको दिगोपनामा सहयोग पुर्‍याउन अनुरोध गरेको छ।