४४३ मिटर उचाइकाे एम्पायर स्टेट बिल्डिङमा चढेर विवाह प्रस्ताव, स्टन्टपछि रुसी जोडी पक्राउ


काठमाडौं ।

 अमेरिकाको न्यूयोर्कस्थित विश्वप्रसिद्ध एम्पायर स्टेट बिल्डिङको चुचुरोमा अनुमति बिना चढेर विवाह प्रस्ताव गरेको आरोपमा एक रुसी जोडी पक्राउ परेका छन्।

न्यूयोर्क प्रहरीका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीय इभान कुज्नेत्सोभ र ३३ वर्षीया एन्जेलिना निकोलाउ रहेका छन्। उनीहरू अग्ला भवनको टुप्पोमा सुरक्षा उपकरणबिना चढ्ने गतिविधिका कारण सामाजिक सञ्जालमा चर्चित छन्। उनीहरूको साहसिक जीवनशैलीमाथि आधारित ‘स्काइवाकरस्: अ लभ स्टोरी’ नामक नेटफ्लिक्स वृत्तचित्र सन् २०२४ मा सार्वजनिक भएको थियो।

घटनाको हवाई दृश्यमा दुवै जना कालो पोसाक र मास्क लगाएर करिब १ हजार ४५४ फिट उचाइमा रहेको एम्पायर स्टेट बिल्डिङको एन्टेनामा पुगेको देखिन्छ। उनीहरूले त्यहाँ एउटा ब्यानर पनि फैलाएका थिए, जसमा “जब प्रेमको शक्ति सत्ताको प्रेमभन्दा ठूलो हुन्छ, तब संसारले शान्ति चिन्छ” भन्ने सन्देश लेखिएको थियो।

त्यसपछि सार्वजनिक भएको अर्को भिडियोमा युवकले एक घुँडा टेकेर युवतीलाई विवाह प्रस्ताव गरेको, दुवैले अँगालो हाल्दै चुम्बन गरेको देखिन्छ।

घटनापछि प्रहरी, उद्धार टोली र आपत्कालीन सेवा घटनास्थल पुगेका थिए। सुरक्षाका लागि भवन वरपरका केही सडकसमेत अस्थायी रूपमा बन्द गरिएको थियो।

प्रहरीले सार्वजनिक गरेको बडी क्यामेरा भिडियोमा एक अधिकारीले उनीहरूलाई “तपाईंहरू यहाँ हुन मिल्दैन” भन्दै नियन्त्रणमा लिएको देखिन्छ।

उक्त जोडीले आफ्नो साहसिक गतिविधिका तस्बिर सामाजिक सञ्जालमा पनि सार्वजनिक गरेका छन्। एउटा तस्बिरमा युवतीको हातमा औंठी देखिएकाले विवाह प्रस्ताव सफल भएको अनुमान गरिएको छ।

एम्पायर स्टेट बिल्डिङ व्यवस्थापनले घटनाका क्रममा भवनभित्र रहेका कर्मचारी, पर्यटक वा अवलोकन डेकमा पुगेका आगन्तुकको सुरक्षामा कुनै जोखिम नपरेको जनाएको छ।

प्रहरीका अनुसार उनीहरू भवनको १०३औँ तलाबाट एन्टेनातर्फ पुगेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। उक्त तला सर्वसाधारणका लागि खुला छैन र मुख्य रूपमा मर्मतसम्भारका कामका लागि प्रयोग गरिन्छ। उनीहरू त्यहाँसम्म कसरी पुगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रसारण प्रविधिका पूर्व इन्जिनियरहरूले भवनको एन्टेना क्षेत्रमा उच्च स्तरको रेडियो फ्रिक्वेन्सी विकिरण र विद्युतीय ऊर्जा हुने भएकाले त्यहाँ चढ्नु अत्यन्त जोखिमपूर्ण हुने बताएका छन्।

पक्राउ परेका दुवैमाथि गैरकानुनी रूपमा भवनमा प्रवेश गरेको, लापरबाहीपूर्ण कार्य गरेर अरूको ज्यान जोखिममा पारेको, सम्पत्तिमा क्षति पुर्‍याउने प्रयास गरेको, चोरीमा प्रयोग हुने उपकरण बोकेको, आपराधिक अतिक्रमण तथा सार्वजनिक अव्यवस्था सिर्जना गरेकोलगायत विभिन्न अभियोग लगाइएको छ।

इभान कुज्नेत्सोभ र एन्जेलिना निकोलाउ यसअघि पनि चीनको गोल्डिन फाइनान्स ११७ र मलेसियाको मर्डेका ११८ जस्ता विश्वका अग्ला भवनहरूमा सुरक्षा अनुमति बिना चढिसकेका छन्।

एम्पायर स्टेट बिल्डिङमा यसअघि पनि यस्ता साहसिक गतिविधि भएका छन्। सन् १९९४ मा ‘फ्रेन्च स्पाइडरम्यान’ भनेर चिनिने एलेन रोबर्टले कुनै सुरक्षा उपकरणबिना यो भवन चढेका थिए। त्यसैगरी सन् २०२३ मा अमेरिकी गायक जारेड लेटोले आधिकारिक अनुमति लिएर भवनमा आरोहण गरेका थिए, जसले कानुनी रूपमा यस्तो गर्ने पहिलो व्यक्ति बनेका थिए।