बुटवल।
लुम्बिनी बौद्ध विश्वविद्यालय र लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा बिहीबारदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । ‘बौद्ध सम्पदा र विश्वव्यापी विमर्श : शान्ति, सुशासन र दिगो पर्यटन विकास’ भन्ने मूल विषयमा केन्द्रित सम्मेलन शुक्रवारसम्म चल्नेछ । सम्मेलनमा नेपालसहित भारत, चीन, श्रीलंका लगायत विभिन्न देशका बौद्ध अध्येता, अनुसन्धानकर्ता, प्राज्ञ, धार्मिक गुरु, नीति निर्माता तथा पर्यटन क्षेत्रसँग सम्बन्धित विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनमा बौद्ध दर्शन, सांस्कृतिक सम्पदाको संरक्षण, विश्व शान्ति, सुशासन तथा दिगो पर्यटन प्रवर्द्धनसँग सम्बन्धित विषयमा १२ वटा कार्यपत्र प्रस्तुति, छलफल र अनुभव आदानप्रदान हुने आयोजकले जनाएका छन् ।
सम्मेलनको उद्घाटन गर्दै प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले सम्मेलनबाट लुम्बिनीलाई अन्तर्राष्ट्रिय शैक्षिक, आध्यात्मिक तथा बौद्ध अध्ययनको केन्द्रका रूपमा थप स्थापित गर्न योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सम्मेलनका प्रमुख वक्ता प्रा.डा. नरेशमान बज्राचार्यले बुद्धका अहिंसा, शान्ति, करुणा र सहअस्तित्वका सन्देशलाई विश्व समुदायमा थप प्रभावकारी रूपमा प्रवाह गर्न यस्ता सम्मेलन निरन्तर आयोजना आयोजना हुनुपर्ने बताउनुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा. मानिकरत्न शाक्यले बौद्ध सम्पदालाई विश्व समुदायसँग जोड्दै पर्यटन प्रवर्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार र अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलनले आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद सिके गुप्ता, विश्वविद्यालयका रजिष्टार इन्द्रप्रसाद काफ्ले, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, लुम्बिनी अनुसन्धान केन्द्रका प्रमुख डा. गितु गिरी लगायतले शान्ति, सुशासन र दिगो पर्यटन विकासमा बौद्ध शिक्षाको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । विश्वविद्यालयका उपप्राध्यापक कमल थापाको सञ्चालनमा सम्पन्न सम्मेलन उद्घाटन सत्रका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।











प्रतिक्रिया