काठमाडौं ।
दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको सवारी दुर्घटनापछि कर्णाली नदीमा बेपत्ता भएको गाडी र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बल, नेपालले गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलका अनुसार नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतबाट शुक्रबार दिउँसो करिब १:३५ बजे ६ जना गोताखोरसहितको थप उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको हो।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ६०० देखि ७०० मिटर तल कर्णाली नदीमा खसेको थियो।
आज बिहान करिब ११:३० बजे दुर्घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली घटनास्थलमा खटिएको थियो।
उद्धारका क्रममा दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारेर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ।
बेपत्ता गाडी र अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।











प्रतिक्रिया