नेपाल प्रहरीका ८ एआईजीको सरुवा, सीआईबीको नेतृत्व उमाप्रसाद चतुर्वेदीलाई


काठमाडौं ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। सरुवासँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नेतृत्व परिवर्तन भएको छ।

मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई नेपाल प्रहरीको सबैभन्दा महत्वपूर्ण अनुसन्धान निकाय मानिने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयको कार्य विभागमा कार्यरत थिए।

हाल सीआईबी प्रमुख रहेका एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। यस्तै, अपराध अनुसन्धान कार्यालयमा कार्यरत एआईजी सुशीलसिंह राठौरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख बनाइएको छ। उपत्यका प्रहरी प्रमुख रहेका एआईजी ईश्वर कार्कीलाई भने प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागमा सरुवा गरिएको छ।

त्यसैगरी, प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयको कार्य (अपरेसन) विभागमा ल्याइएको छ भने मानवस्रोत विकास विभागमा रहेका एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।

प्रहरी प्रधान कार्यालयभित्र पनि दुई विभागका प्रमुखबीच जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विकलाई प्रशासन विभागमा पठाइएको छ भने प्रशासन विभागका एआईजी हिमालय श्रेष्ठलाई प्रदेश समन्वय विभागको जिम्मेवारी दिइएको छ।

सरकारले बुधबार मात्रै दुर्गा सिंह र भरतबहादुर बोहरालाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। बढुवापछि गरिएको यो सरुवालाई नेपाल प्रहरीको नेतृत्व व्यवस्थापन र संगठनात्मक पुनर्संरचनाको निरन्तरताका रूपमा हेरिएको छ।

गृह मन्त्रालयले पछिल्लो समय अनुसन्धान क्षमता अभिवृद्धि, संगठित अपराध, आर्थिक अपराध तथा साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरी संगठनलाई थप प्रभावकारी बनाउने नीति अघि बढाइरहेको छ। त्यसअनुसार सीआईबीसहित प्रमुख अनुसन्धान तथा परिचालन निकायमा अनुभवी नेतृत्व खटाइएको सुरक्षा अधिकारीहरूको बुझाइ छ।