भारी वर्षाले काठमाडौँको न्यू प्लाजा जलमग्न, सर्वसाधारणलाई सास्ती


काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा परेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ। भारी वर्षापछि काठमाडौँको न्यू प्लाजा क्षेत्र जलमग्न हुँदा सडकमा पानी जमेको छ भने आवतजावत गर्न सर्वसाधारणलाई निकै सास्ती भएको छ।
सडकमा ठूलो परिमाणमा पानी जम्दा पैदल यात्रुहरू जोखिम मोलेर हिँड्न बाध्य भएका छन्। साना तथा ठूला सवारीसाधन सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको छ भने केही स्थानमा ट्राफिक जामसमेत देखिएको छ।


स्थानीयवासीका अनुसार प्रभावकारी ढल निकासको अभावका कारण सामान्यदेखि भारी वर्षा हुँदा न्यू प्लाजा क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको छ। बर्सेनि दोहोरिने समस्याले सर्वसाधारणलाई दुःख दिँदै आए पनि दीर्घकालीन समाधान हुन नसकेको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।


मौसमविद्हरूले अझै वर्षा जारी रहने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। जलमग्न सडकमा सावधानीपूर्वक यात्रा गर्न तथा अनावश्यक रूपमा जोखिमपूर्ण क्षेत्रमा नजान पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।