श्रीमती हत्या प्रकरण : ‘नेपाली ब्रो’ कुमार थापा मगर र प्रेमिका पुर्पक्षका लागि थुनामा


काठमाडौं ।

श्रीमतीको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतिक्षा आचार्यलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

यस्तै, सोही मुद्दाका अन्य प्रतिवादी विक्रम थापा मगर र पुजन थापा क्षेत्रीलाई भने जनही १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

प्रहरी अनुसन्धानअनुसार कुमार थापा मगरले गत जेठ २२ गते आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरी भुजेलको घाँटी रेटेर हत्या गरेको आरोप छ। घटनापछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अदालतको पछिल्लो आदेशसँगै मुख्य दुई प्रतिवादी अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म पुर्पक्षका लागि थुनामै रहनेछन्।