सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण


काठमाडौं ।

सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर सञ्चालन गर्दै पौष्टिक खाना वितरण कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायतका जनसरोकारका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको उल्लेख गर्दै लक्षित वर्गलाई प्रत्यक्ष लाभ पुर्‍याउने उद्देश्यसहित देशभर कार्यक्रम सञ्चालन गरिएको जनाएको छ।

गर्भावस्था तथा सुत्केरी अवस्थामा देखिन सक्ने पोषणको कमी, रक्तअल्पता (एनिमिया) र अन्य स्वास्थ्य जटिलताबाट आमा तथा नवजात शिशुलाई जोगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ।

यस अभियानअन्तर्गत बैंकले सातै प्रदेशका विभिन्न नगरपालिका, गाउँपालिका तथा वडा कार्यालयहरूसँग समन्वय गरी करिब १,०५० गर्भवती तथा सुत्केरी महिलालाई प्रत्यक्ष सेवा प्रदान गरेको हो।

शिविरमा सहभागी महिलाहरूको स्वास्थ्यकर्मीमार्फत आवश्यक स्वास्थ्य परीक्षण गरिएको थियो भने उनीहरूलाई करिब तीन महिनासम्म पुग्ने पौष्टिक खाद्य सामग्री वितरण गरिएको बैंकले जनाएको छ।

बैंकले आगामी दिनमा पनि समाजका लक्षित वर्गमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

सानिमा बैंकको देशभर हाल १३४ वटा कार्यालय र १२७ वटा एटीएम सञ्चालनमा रहेका छन्।

Skip This