लमजुङ।
लमजुङको दुर्गम क्षेत्र दूधपोखरी गाउँपालिका–६ मा खानेपानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी लमजुङले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत धारा निर्माण सम्पन्न भएको छ ।
कार्यक्रम अन्र्तगत दुधपोखरीको वडा नम्बर ६ अन्तर्गत काठेश्वर र हाउगाउँका नागरिकका लागि ४५ वटा धारा निर्माण गरेको हो । गत वैशाख महिनाबाट सुरु गरिएको निर्माण कार्य हालै सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम अधिकृत गणेश गौलीले जानकारी दिनुभयो ।
गौलीका अनुसार १५ लाख रुपैयाँको लागतमा प्रत्येक घरमा धारा जडान गर्ने व्यवस्था मिलाइनुका साथै एक वटा रिजर्भ ट्याङ्की र दुई वटा कलेक्सन च्याम्बर निर्माण गरिएको छ । यस आयोजनाले स्थानीय बासिन्दालाई घरमै स्वच्छ खानेपानी उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी दूधपोखरी गाउँपालिका–६ कै उम्लिश्वर गाउँ र पिगुर गाउँमा १० लाख रुपैयाँको लागतमा दुई वटा कलेक्सन च्याम्बर तथा एक वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । उक्त संरचनाले भविष्यमा खानेपानी वितरण प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन सहयोग पु¥याउने विश्वास गरिएको छ ।
स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको खानेपानी अभावको समस्या समाधानमा यो कार्यक्रम प्रभावकारी हुने बताएका छन् । विशेष गरी महिलाहरु र ज्येष्ठ नागरिकलाई टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हट्ने तथा समय र श्रमको बचत हुने अपेक्षा गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटीले सुरक्षित खानेपानी तथा सरसफाइमा पहुँच वृद्धि गरी ग्रामीण समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।











प्रतिक्रिया