सर्लाही।
सर्लाहीको बसवरिया गाउँपालिका–१ मानपुरमा आफ्नै घरमा सुतिरहेका एक व्यक्तिको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रारम्भिक रूपमा मोबाइलको विषयमा भएको विवाद, पारिवारिक मनमुटाव र रिसइबीका कारण आफन्तलाई फसाउन छिमेकीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
गत असार ७ गते बिहान करिब १ः१० बजे बसवरिया गाउँपालिका–१ मानपुर टोल निवासी ५३ वर्षीय होस नारायण राय यादव आफ्नै घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि बरहथवा नगर अस्पताल पु¥याइए पनि बिहान करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको घाँटीको दाहिने भागमा करिब ५ इन्च लामो र २ इन्च चौडा गहिरो काटिएको चोट रहेको प्रहरीले जनाएको छ।
घटनालगत्तै इलाका प्रहरी कार्यालय मानपुर र बरहथवाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्रनाथ पौडेलको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानमा सिडिआर, बिटिएस विश्लेषण, घटनास्थलको वैज्ञानिक परीक्षण तथा मधेश प्रदेश प्रहरी कार्यालयको के–९ (डग स्क्वाड) समेत परिचालन गरिएको थियो।
प्रहरीका अनुसार घटनास्थल वरपर जडान गरिएका सिसिटिभी फुटेज र अन्य प्राविधिक प्रमाणको विश्लेषणका क्रममा मृतकका छोरा सन्तोष कुमार राय माथि शंका केन्द्रित भएको थियो। फुटेजमा देखिएको व्यक्ति आफ्नै छोरा रहेको उनका पिता श्याम बाबु रायलेसमेत पहिचान गरेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा वारदात भएको राति घटनास्थलबाट करिब २००–३०० मिटर दूरीमा पार्किङ गरिएको ना ४५ प २६८५ नम्बरको निलो रंगको ग्ल्याम्बर १२५ सीसी मोटरसाइकल चोरी भएको खुलेको थियो। सोही मोटरसाइकल प्रयोग गरेर सन्तोष घटनास्थल पुगेको र घटनापछि फरार भएको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको दाबी छ।
चोरी भएको मोटरसाइकल असार १४ गते लालबन्दी नगरपालिका–२ नवलपुरस्थित निर्माणाधीन घर अगाडि बेवारिसे अवस्थामा फेला परेको थियो। त्यसपछि प्रहरीले खोजीलाई तीव्र बनाउँदै असार १६ गते बरहथवा बजार क्षेत्रमा लुकीछिपी बसेका अवस्थामा सन्तोषलाई स्थानीयवासीको सहयोगमा पक्राउ गरेको थियो।
प्रहरीका अनुसार पक्राउपछि प्रारम्भिक बयानमा सन्तोषले हत्या आफूले नै गरेको स्वीकार गरेका छन्। उनले वारदातका लागि चोरी गरेको मोटरसाइकल प्रयोग गरेको, घटनापछि उक्त मोटरसाइकल नवलपुरमा छाडेर विभिन्न स्थानमा लुकीछिपी बसेको बताएका छन्। वारदातमा प्रयोग गरिएको हसिया बरहथवा नगरपालिका–१३ स्थित सडकछेउको खेतमा फालेको बयान दिए पनि उक्त हतियार हालसम्म बरामद हुन सकेको छैन।
घटना घटाएको हप्तौ दिन अगाडीदेखि नै आरोपित राय गाउँमा पन्जाबी हसिया कम्मर पछाडी झुन्डयाएर घुम्दै आएको स्थानीयको भनाई छ।
प्रारम्भिक अनुसन्धानमा घटनाको कारण पनि खुलेको प्रहरीले जनाएको छ। असार ६ गते मोबाइलको विषयलाई लिएर बाबुसँग विवाद भएको, आफूले पटक–पटक पैसा माग्दा परिवारले नदिएको तथा सुधार केन्द्रमा राख्ने कुरा गरेकाले रिसको आवेगमा हत्या गरेको उनले बयान दिएका छन्। साथै घटनापछि बाबु र आफ्ना भिनाजुलाई फसाउने उद्देश्यसमेत रहेको उनको प्रारम्भिक बयान रहेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार सन्तोषलाई यसअघि पनि खराब आचरणका कारण परिवारले सुधार केन्द्रमा राखेको तथ्य अनुसन्धानका क्रममा खुलेको छ।
मृतकका छोरा सुबास कुमार यादवले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले सन्तोषविरुद्ध कर्तव्य ज्यान तथा चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ। जिल्ला अदालत सर्लाहीबाट पहिलो चरणमा सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
यद्यपि प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेकाले प्रारम्भिक बयानका आधारमा खुलेका तथ्यहरू थप अनुसन्धानपछि परिवर्तन हुन सक्ने जनाएको छ।











प्रतिक्रिया