अबदेखि भद्र र मर्यादित भएर प्रस्तुत हुने प्रयास गर्छु : आशिका तामाङ


काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले आगामी दिनमा संसदमा आफूलाई अझ भद्र, मर्यादित र अनुशासित रूपमा प्रस्तुत गर्ने बताएकी छन्।

रास्वपा संसदीय दलको अनौपचारिक बैठकमा पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा संसदीय मर्यादा कायम राख्न निर्देशन दिएपछि तामाङले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गरेकी हुन्।

तामाङले आगामी दिनमा आफूले आफ्नो व्यवहार र प्रस्तुतिमा सुधार गर्ने संकेत गर्दै लेखेकी छन्, ‘अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु।’

संसदीय दलको बैठकमा सभापति लामिछानेले तामाङसँगै सांसद खगेन्द्र सुनारलाई पनि संसदमा प्रस्तुत हुने शैलीबारे सचेत गराएको बताइएको छ।

यसअघि तामाङले आफ्नो निर्वाचन क्षेत्रका एक युवाको शव नेपाल ल्याउन सरकारले सहयोग नगरेको विषयमा संसदमा आक्रोश व्यक्त गरेकी थिइन्।

लामिछानेले सांसदहरूले अभियन्ताको शैलीभन्दा फरक ढंगले संसदीय अभ्यास र मर्यादाभित्र रहेर आफ्ना विषय प्रस्तुत गर्नुपर्ने बताएका थिए। त्यसपछि तामाङले आफूले आगामी दिनमा संसदीय मर्यादा र अनुशासनलाई थप ध्यान दिने प्रतिक्रिया दिएकी हुन्।