उदयपुर ।
हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रियुगा नगरपालिकाको साझेदारीमा त्रियुगा नगरपालिकाका विभिन्न वडामा सुधारिएको चुल्हो वितरण गरिएको छ । परियोजनाअन्तर्गत बजार मूल्य करिब ६ हजार रुपैयाँ पर्ने सुधारिएको चुल्होलाई नगरपालिकाको १५ प्रतिशत र उपभोक्ताको ५ प्रतिशत लागत साझेदारीमा वितरण गरिएको हो ।
नगरपालिकाका १६ वडामध्ये १५ वटामा गरी कुल ४ सय वटा सुधारिएको चुल्हो वितरण गरिएको छ । वितरणका क्रममा वडा नं. १० मा सबैभन्दा बढी १ सय १५ वटा चुल्हो वितरण गरिएको छ भने वडा नं. १४ मा सबैभन्दा कम ३ वटा मात्रै वितरण गरिएको छ ।
वडा नं. ६ मा भने यस कार्यक्रम अन्तर्गत एक वटा पनि सुधारिएको चुल्हो वितरण हुन सकेन । सुधारिएको चुल्होले दाउराको खपत घटाउने, धुवाँ कम गर्ने, घरभित्रको वायु प्रदूषण न्यून गर्ने, महिलाको स्वास्थ्य संरक्षणमा सहयोग पु¥याउने तथा वातावरण संरक्षणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
यस अवसरमा त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले नगरपालिकाले वातावरण संरक्षणसँगै नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सुधारिएको चुल्हो वितरण कार्यक्रम सञ्चालन गरेको बताउनु भयो । आगामी दिनमा यस्ता वातावरणमैत्री कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आवश्यकताका आधारमा अन्य घरधुरीमा समेत विस्तार गरिने उहाँले उल्लेख गर्नु भयो ।
उपमेयर महेश्वरी राईले सुधारिएको चुल्होले विशेषगरी ग्रामीण क्षेत्रमा महिलाको दैनिक जीवन सहज बनाउने, इन्धनको बचत गर्ने र घरभित्रको धुवाँका कारण हुने स्वास्थ्य समस्यामा कमी ल्याउने विश्वास व्यक्त गर्नु भयो । उहाँल कार्यक्रमको प्रभावकारिता बढाउन लाभग्राहीले चुल्होको सही प्रयोग र संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।











प्रतिक्रिया