उदयपुरमा हालसम्म पचिस प्रतिशत रोपाई

282
Shares

उदयपुर ।

उदयपुरका ८ वटा पालिकाहरुमा यस वर्ष रोपाई विगतको तुलनामा ढिलो शुर भएको छ भने समयमा वर्षा नहुँदा जिल्ला भरीमा २५ प्रतिशतमात्र रोपाई भएको छ ।


असारको दोस्रो हप्ता सुरु हुँदासम्म उदयपुरमा करीब ५५ प्रतिशत धान रोपाइँ हुनु पर्नेमा भएको समयमा वर्षा नहुँदा ढिलो पानी परेकोले रोपाई कम भएको हो ।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार जिल्लामा वार्षिक रूपमा कुल १३ हजार ११२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरे पनि हालसम्म करिब २५ प्रतिशत अर्थात् ३ हजार २७८ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र उदयपुरका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्रप्रसाद यादवका अनुसार जिल्लाका मुख्य धान उत्पादन हुने भित्री मधेसका बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुरगढी गाउँपालिका र रौतामाई गाउँपालिकामा भर्खरै मात्र रोपाइँ सुरु भएको छ । उनले भने, ‘यस क्षेत्रमा रोपाइँ सुरु हुने समय भर्खर भएको हो । साना–साना आकाशे वर्षा पनि भइरहेको छ ।

अझ राम्ररी अबका दिनमा वर्षा हुने हो भने अब एक साताभित्र रोपाइँको गति उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरेका छौँ ।’ यादवका अनुसार पहाडी क्षेत्रमा भने अहिले धमाधम रोपाइँ भइरहेको छ ।

कटारी नगरपालिकाको पहाडी क्षेत्र, लिम्चुङबुङ गाउँपालिका, ताप्ली गाउँपालिका लगायत महाभारत क्षेत्रका अधिकांश स्थानमा रोपाइँ जारी रहेको र धेरै ठाउँमा अन्तिम चरणमा पुगेको उनले बताए ।

यता भित्री मधेस क्षेत्रमा पर्ने त्रियुगा नदी तथा अन्य खोलाका किनारमा पनि किसान रोपाइँमा व्यस्त देखिएका छन् । कतै किसान चैते धान भित्र्याएर रोपाइँको तयारीमा जुटेका छन् भने कतै मकै भित्र्याउने कामसँगै खेत तयार पार्ने चटारो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८२÷८३ मा जिल्लाको १२ हजार ९१२ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । उक्त क्षेत्रफलबाट ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांक छ ।