एन्फा निलम्बन फुकुवाका लागि पहल गरियोस्


विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निलम्बन गरेको छ । यो निलम्बनले नेपाली फुटबल क्षेत्र अन्धकारमय भएको छ । फिफाले सार्वजनिक गरेको विज्ञप्तिअनुसार नेपाली फुटबलमा तेस्रो पक्षको हस्तक्षेप भएको उल्लेख छ । अर्को सूचना नआउन्जेलसम्म फिफाको एन्फामाथि अनिश्चितकालीन निलम्बन हो यो ।

नेपाली फुटबल इतिहासमा यो पहिलो घटना हो । यसले फुटबल खेलप्रेमीलाई निरास बनाएको छ । फिफा विधानको धारा १४ को उपधारा १ (आई) र ३ अनुसार तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लंघन भएको ठहर गर्दै निलम्बन गरेको हो । सोही अनुसार फिफाले एन्फालाई तत्काल लागू हुने गरी निलम्बन गर्ने निर्णय फिफाको द ब्यूरो अफ द काउन्सिलले गरेको हो ।

योसँगै फिफाको मान्यता पाएको ५४ वर्षमा नेपाली फुटबलमा पहिलोपटक ठूलो ग्रहण लागेको छ । सारा फुटबलप्रेमीहरू विश्वकप फुटबलको मज्जा लिइरहेको बेला फिफाले नेपाली फुटबललाई ओझेलमा पार्ने काम गरेको छ । त्यसो त फिफाबाट निलम्बन हुन सक्ने चेतावनीसहितको पत्र आएको भन्दै एन्फाले बेला बेलामा खबर सार्वजनिक गरेको थियो । तर, त्यस्तो अवस्था आइसक्दा पनि न एन्फाबाट कुनै पहल भयो, न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नै ।

नयाँ सरकारको खेलकुद मन्त्रीले समेत वास्ता देखाएनन् । भनौँ खेलकुदमन्त्रीले यो विवादलाई मिलाउन चोहनन् । जब फिफाबाट चेतावनी आइरहँदा एन्फाले पनि सबै कुरा बिर्सेर राखेपको निर्देशन मान्नुपर्ने थियो । एन्फाले अर्ली इलेक्सन गर्न विधानले नदिइने हुँदा राखेपको एउटै सर्त थियो कि एन्फाले तहगतरुपमा निर्वाचन गर्नुपर्नेछ । एन्फाले यसैमा राखेपसँग सहमत जनाएन । एन्फाले राखेपको निर्देशन मानेर तहगत निर्वाचन गरेको भए यस्तो अवस्था कहिल्यै आउने थिएन । फिफाले पनि नेपालमा के भइरहेको भन्ने राम्ररी अध्ययन नगरी राखेपको निर्देशनलाई तेस्रो पक्षको हस्तक्षेप भन्दै एन्फालाई निलम्बन गरिदियो ।

यो निलम्बनले नेपाली फुटबललाई यस्तो कठिन अवस्थामा पु¥यायो कि अब उत्थान गर्न पनि निकै कठिन नै हुने देखिएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन् । अन्तर्राष्ट्रिय फुटबल खेल्न नपाउनु भनेको नेपाली फुटबलरहरूको रोजीरोटी छिन्ने र भविष्य अन्धकार बनाउनु नै हो । नेपाली फुटबलको विकास गर्न र पहिलेभन्दा राम्रो गर्नुपर्ने समयमा फिफाबाट निलम्बन हुनुप¥यो । निलम्बनले नेपाली फुटबलले पाउँदै आएको अनुदान रोकिएको छ । खेलाडीमा निरास देखिएको छ । त्यसै त नेपाली फुटबलरहरू एन्फाको कार्यशैलीले गर्दा निरास हुँदै आफ्नो जन्मभूमि छाड्दै अर्को देशमा करिअर खोज्न गइरहेका थिए । अब त भविष्य खोज्दै विदेशिने सम्भावना थप बढेको छ ।

यसको जिम्मेबार एन्फाका पदाधिकारीहरूले लिनुपर्दछ । मनदेखि फुटबलको विकास गर्नुपर्छ भन्ने मनमा लिएर एन्फाले राखेपको निर्देशन मान्नुपर्दछ । कोही नहारोस्, कोही नजितोस् अहंकारले सत्यानाश गर्नुबाहेक अरु गर्दैन । त्यसैले नेपाली खेलाडीको भविष्य उज्यालो पार्न एन्फा, सरकार र राखेप तीनै सरोकारहरू मिलेर यसको समाधान खोज्नुपर्दछ ।

यदि यसो नभएमा नेपालको राष्ट्रिय पुरुष, महिला वा उमेर समूहका टोलीले फिफा वा एएफसी (एसियाली फुटबल महासंघ) अन्तर्गत कुनै पनि प्रतियोगिताहरू खेल्न पाउने छैनन् । त्यस्तै क्लबहरूले एएफसी च्याम्पियन्स लिगलगायतका प्रतियोगिता खेल्न पाउने छैनन् । रेफ्री, प्रशिक्षकहरूको अधिकार पनि रोकिन सक्नेछ । यसैले छिटोभन्दा छिटो समाधान खोजेर नेपाली फुटबललाई फेरि पहिलेजस्तै चलायमान गर्नुपर्दछ ।