केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम अझै बाँकी, पदाधिकारी निर्वाचनको तालिका धकेलियो

1.97k
Shares

चितवन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम अझै सार्वजनिक हुन नसक्दा पदाधिकारी निर्वाचनको कार्यतालिका धकेलिएको छ।

महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय सदस्यको निर्वाचन सम्पन्न भएपछि पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता, दाबी–विरोध तथा मतदान प्रक्रिया अघि बढाउने तयारी थियो। तर केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक हुन बाँकी रहेकाले पदाधिकारी निर्वाचनको प्रक्रिया समेत प्रभावित भएको हो।

निर्वाचन समितिका अनुसार हालसम्म चितवनस्थित महाधिवेशनस्थलमा प्रतिनिधिहरूले विद्युतीय मतदान मेसिनमार्फत दिएको मतको परिणाम क्रमशः सार्वजनिक भइरहेको छ। विभिन्न प्रदेश र खुलातर्फका उम्मेदवारहरूले प्राप्त गरेको मत घोषणा गर्ने काम जारी रहे पनि प्रवास समितिबाट आएको मत अझै समावेश गरिएको छैन।

रास्वपाले देशभरका प्रदेश तथा प्रवासबाट सहभागी प्रतिनिधिहरूको मतलाई एकीकृत गरी अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। त्यसैले हाल सार्वजनिक भइरहेका परिणामलाई प्रारम्भिक परिणामका रूपमा हेरिएको छ। प्रवासतर्फको मत जोडिएपछि मात्रै केन्द्रीय सदस्यहरूको आधिकारिक तथा अन्तिम मतपरिणाम सार्वजनिक गरिनेछ।