अमेरिकामा हतियार अभावको रिपोर्टलाई ट्रम्पले अस्वीकार गरे, सूचना चुहाउनेलाई जेल हाल्ने चेतावनी


काठमाडौँ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा हतियार तथा गोला–बारुदको अभाव रहेको भन्ने समाचारलाई अस्वीकार गर्दै त्यस्ता सूचना चुहाउनेहरूलाई कडा कारबाही र लामो जेल सजाय हुने चेतावनी दिएका छन्।

बिहीबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा ट्रम्पले अमेरिकासँग पर्याप्त मात्रामा गोला–बारुद रहेको दाबी गर्दै मिडियामा आएका रिपोर्टलाई “झुटो” बताएका हुन्। उनले अमेरिकासँग विशेष प्रकारका हतियारका लागि आवश्यक गोला–बारुदको पर्याप्त भण्डार रहेको उल्लेख गरे पनि त्यसबारे थप विवरण भने दिएका छैनन्।

ट्रम्पले रक्षा उद्योगले देशको इतिहासमै सबैभन्दा ठूलो मात्रामा नयाँ उत्पादन केन्द्र र कारखाना निर्माण गरिरहेको दाबी गर्दै ठूलो परिमाणमा गोला–बारुद उत्पादन भइरहेको र आवश्यक परे अमेरिकाभित्रै आपूर्ति गरिने बताए।

यसअघि वासिङ्टन पोस्टले गत शुक्रबार क्याम्प डेभिडमा भएको मन्त्रिपरिषद् बैठकमा ट्रम्पले रक्षा सचिव पिट हेग्सेथसँग कथित गोला–बारुद अभावबारे स्पष्टीकरण मागेको जनाएको थियो। पत्रिकाले स्रोतहरूलाई उद्धृत गर्दै ट्रम्पले उक्त समस्या पहिले नै समाधान भइसकेको अपेक्षा गरेको उल्लेख गरेको छ।

उक्त रिपोर्टको प्रतिक्रिया दिँदै ट्रम्पले सूचना चुहाउने व्यक्तिहरूको पहिचान भइसकेको दाबी गर्दै उनीहरूलाई “लामो जेल सजाय” दिइने चेतावनी दिए।

यसैबीच, सीएनएनले लामो दूरीका निर्देशित क्षेप्यास्त्र र हवाई रक्षा प्रणालीका इन्टरसेप्टरको अभावले इरानप्रति ट्रम्प प्रशासनको सैन्य रणनीतिमा असर परेको जनाएको छ। रिपोर्टअनुसार अमेरिकी सेनाले आफ्नो THAAD हवाई रक्षा प्रणालीका करिब ८० प्रतिशत क्षेप्यास्त्र पहिले नै तैनाथ गरिसकेको छ।

त्यस्तै, वासिङ्टन पोस्टले इरानविरुद्ध “धेरै कडा हमला” गर्ने चेतावनी दिए पनि हतियार अभावका कारण ट्रम्प प्रशासनले केही नयाँ सैन्य आक्रमणका योजना स्थगित गरेको दाबी गरेको छ।

यद्यपि, ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्प र रक्षा सचिव पिट हेग्सेथबीच विवाद भएको भन्ने समाचारलाई “फेक न्यूज” भन्दै अस्वीकार गरेकी छन्। पेन्टागनका वरिष्ठ प्रवक्ता सीन पार्नेलले पनि ट्रम्प–हेग्सेथबीच मतभेद र हतियार अभावसम्बन्धी सबै रिपोर्टलाई “पूर्ण रूपमा बनावटी” भएको बताएका छन्।- बीबीसीबाट