काठमाडौँ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को मौका परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ ।साउन २ र ३ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले बिहिबार सार्वजनिक गरेको हो।
परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जना (८१.१९ प्रतिशत) ले सबै विषयमा ग्रेड प्राप्त गरी सफलता हासिल गरेका छन् । साथै, ३ जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ ।
प्राप्त नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने परीक्षार्थीले साउन २४ गते बिहान ९ बजेदेखि साउन ३० गते साँझ ५ बजेसम्म प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाएर अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
त्यस्तै, परीक्षामा सहभागी भई प्रत्येक विषयमा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको १० दिनपश्चात् तोकिएको दस्तुर बुझाई ट्रान्सक्रिप्ट, माइग्रेसन तथा प्रोभिजनल प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नतिजामा कुनै प्राविधिक त्रुटि वा विवरण फरक परेमा नतिजा प्रकाशन भएको ६ महिनाभित्र आवश्यक कागजातसहित आवेदन दिन सकिनेछ ।











प्रतिक्रिया