काठमाडौं।
हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) शैलेश सुवेदीले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
कम्पनीको ४३औँ सञ्चालक समितिको निर्णयअनुसार सुवेदीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो। उनले आजदेखि कम्पनीको नेतृत्व सम्हालेका हुन्।
पूँजी बजार, क्रेडिट रेटिङ, प्राइभेट इक्विटी, जोखिम मूल्याङ्कन तथा वित्तीय क्षेत्रका विभिन्न आयाममा लामो अनुभव हासिल गरेका सुवेदी नेतृत्व क्षमता र व्यावसायिक दक्षताका लागि परिचित छन्। कम्पनीले उनको नियुक्तिले संस्थागत विकास, सेवा विस्तार, सुशासन प्रवर्द्धन तथा लगानीकर्तामैत्री सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडले सामूहिक लगानी कोष व्यवस्थापन, निक्षेप सदस्य सेवा, शेयर रजिस्ट्रार सेवा लगायतका मर्चेन्ट बैंकिङ सेवामार्फत नेपालको पूँजी बजार विकासमा निरन्तर योगदान पुर्याउँदै आएको छ।
कम्पनीले आगामी दिनमा पनि नवीन, विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्दै लगानीकर्ता र सरोकारवालाहरूको विश्वासलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।











प्रतिक्रिया