सिन्धुली।
सिन्धुलीका नौ वटै स्थानीय तहहरुले आगामी आर्थिक बर्ष २०८३-०८४ को लागि नीति तथा कार्यक्रम बजेट सार्वजनिक गरेका छन् ।
कमलामाई, दुधौली नगरपालिका, तीनपाटन, गोलन्जोर, सुनकोशी, घ्याङलेख गाउँपालिकाले असार १० गते बुधवार बजेट सार्वजनिक गरेका हुन् भने हरिहरपुरगढी गाउँपालिकाले असार ५ गते, मरिण गाउँपालिकाले असार ७ गते र फिक्कल गाउँपालिकाले असार ८ गते बजेट सार्वजनिक गरेका हुन् ।
जिल्लाका सबै स्थानीय तहहरुले कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, पूर्वाधार विकास, रोजगारी सिर्जना, विपद् व्यवस्थापन, बालबालिका, महिला तथा जेष्ट नागरिकहरुको अधिकार संरक्षण, वातावरण संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण लगायतका क्षेत्रमा मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।
जिल्लाको सबैभन्दा पुरानो कमलामाई नगरपालिकाले सबैभन्दा बढी १ अर्ब २६ करोड ६७ लाख ८६हजार ९९५ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
नगरसभाको १७ औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमख उपेन्द्र कुमार पोखरेलले आगामी आर्थिक वर्षमा नगरवासीलाई प्रभावकारी सेवा प्रवाह गर्ने, सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सूचना प्रविधि तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको नगरप्रमुख बताउनुभयो ।
दुधौली नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३-०८४ को लागि कुल १ अर्ब १२ करोड ५८ लाख बजेट सार्वजनिक गरेको छ । जसमा चालुतग तर्फ ८३ करोड १२ लाख १ हजार ३ सय छ भने पुँजीगत तर्फ २९ करोड ४५ लाख ९८ हजार ७ सय रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिका मध्येमा जिल्लाकै ठूलो तीनपाटन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ को लागि कुल ८० करोड ६८ लाख ८१ हजार ६६० रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।
गोलन्जोर गाउँपालिकाले कृषिक्षेत्र त्यसमा पनि जुनार उत्पादन, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका क्षेत्रलाई मुख्य जोड दिएर कुल ५६ करोड ३३ लाख ८३ हजार ११० रुपैयाँ विनियोजन गरेको छ ।
गएको असार ५ गते आगामी आर्थिक बर्ष २०८३÷०८४ कोे नीति तथा कार्यक्रम ल्याएको सुनकोशी गाउँपालिकाले बुधवार कुल ६७ करोड ५८ लाख बराबरको बजेट ल्याएको छ ।
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कुमार कोईरालाले विनियोजित बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि, खानेपानीको पहुँच विस्तारसँगै, स्वास्थ्य, शिक्षा, अधुरा पूर्वाधार योजनाहरु सम्पन्न गर्ने लगायतका क्षेत्रमा प्राथमिकता दिएर बजेट ल्याएको बताउनुभयो ।
जिल्लाको पश्चिम भेगमा पर्ने हरिहरपुरगढी गाउँपालिकाले आगामी आर्थिक बर्षको लागि कुल ७२ करोड ३१ लाख ५६ हजार रुपैयाँको बजेट तयार गरेको छ ।
मरिण गाउँपालिका आगामी बर्षको लागि कुल ७६ करोड १७ लाख ५ हजार बजेट ल्याएको छ । जसमा पुँजीगत तर्फ २४ करोड ९८ लाख ४८ हजार चालुगत तर्फ ५१ करोड १८ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
फिक्कल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३-०८४ कोे लागि कुल ६१ करोड बढीको बजेट ल्याएको उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।
घ्याङलेख गाउँपालिकाले कुल ४४ करोड ९८ लाख ५६ हजार रुपैयाँ विनियोजन गरेको छ । जसमा पुँजीगतमा कुल बजेटको ३७ प्रतिशत १६ करोड ६४ लाख छ भने चाँलुगतमा कुल बजेटको ६३ प्रतिशत २८ करोड ३४ लाख ५६ हजार रहेको छ ।











प्रतिक्रिया