म्याग्दीमा पहिरोले इभी गाडी पुरिँदा चालकको मृत्यु


म्याग्दी।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरस्थित बेनी–जोमसोम सडकखण्डमा बुधबार राति पहिरो खस्दा इभी गाडी पुरिएर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय सोहेल मिया रहेका छन्।

बुधबार राति करिब ८ बजे ढुङ्गा–माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको इभी गाडी पुरिएको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दी र सशस्त्र प्रहरी बलको गुल्म हेक्वा म्याग्दीबाट संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो।

उद्धार टोलीले गाडीभित्र रहेका मियालाई बाहिर निकाली उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याएको थियो। अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको बेनी–जोमसोम सडकखण्ड सञ्चालनमा ल्याउन सम्बन्धित निकायले सडक खुलाउने प्रयास जारी राखेका छन्।