चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा लम्बिएपछि भोजन व्यवस्थापनमा हुने खर्च उल्लेख्य रूपमा बढ्ने भएको छ। आवास तथा भोजन व्यवस्थापन समितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशन एक दिन थपिँदा मात्रै खानपानतर्फ दैनिक कम्तीमा ५० लाख रुपैयाँ अतिरिक्त खर्च हुने अनुमान गरिएको छ।
गौतमले उद्घाटन समारोहदेखि बन्दसत्रसम्मका लागि सोमबार र मंगलबार प्रतिनिधिहरूलाई खाजा तथा भोजनको व्यवस्था पार्टीले गरेको जानकारी दिए।
महाधिवेशनको कार्यक्रम लम्बिएसँगै थप दिनका लागि आवश्यक क्याटरिङ सेवा सुनिश्चित गर्न होटलसँग नयाँ सम्झौता गरिएको उनले बताए।
रास्वपाले सोमबार र मंगलबारका लागि दैनिक करिब ६ हजार जनालाई लक्षित गरी बिहानको खाजा तथा दुई छाक भोजनको व्यवस्था गरेको थियो। पार्टीका प्रतिनिधि, विभिन्न अतिथि तथा सुरक्षाकर्मीसहित दैनिक झण्डै ६ हजार जनाले उक्त सेवाबाट लाभ लिएको गौतमले जानकारी दिए।
महाधिवेशनको अवधि थपिएसँगै आवास र भोजन व्यवस्थापनको खर्चसमेत बढ्ने भएकाले पार्टीको आर्थिक भार पनि वृद्धि हुने देखिएको छ।











प्रतिक्रिया