ललितपुर महानगरसँग २० टन मल, खोकनामा रित्तै

846
Shares

खोकना, ललितपुर ।

सानो क्षेत्रफलमा सबैभन्दा बढी धान फल्ने ललितपुरको खोकना हो । प्रि–मनसुनको फाइदा उठाउँदै खोकनाका किसानले वैशाख अन्तिममा धानको बिउ राखेर हिजोसम्म झण्डै ९० प्रतिशत रोपाइँ सकेका छन् । खोकनाका किसान ज्ञानप्रसाद महर्जनले गुनासो गर्दै भन्नुभयो– ‘रोपाइँ त सकियो तर मल नपाउँदा सबै किसान हैरान भएका छन् । मलबिना नै बल्लबल्ल रोपाइँ सक्यौँ ।’

खोकनामा विगतभन्दा यो वर्ष अलि छिटो रोपाइँ सकिएको छ । ललितपुर महानगरपालिका–२१ ले पुरानो राजकुलो निकासको व्यवस्था गरेपछि रोपाइँ केही सहज भएको हो । स्थानीयका अनुसार पानी अभावको कारण गत वर्ष जेनेरेटरले पानी तान्ने व्यवस्था गरिएको थियो भने यो वर्ष प्रि–मनसुनको कारण पानीको व्यवस्था गर्नु परेन । असार १४ गते धान दिवस आउनु ५ दिनअघि नै खोकनामा रोपाइँ सकिएको स्थानीयको भनाइ छ ।

वडाअध्यक्ष रवीन्द्र महर्जनले रोपाइँ गर्न यो वर्ष कुनै सहयोग गर्न नपरेको तर केही किसानका लागि भने राजकुलोमा पानी ल्याउने व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले आगामी वर्षबाट अधिकांस खेतमा राजकुलोको व्यवस्था गर्ने योजना रहेको पनि बताउनुभयो । किसानलाई धानको बिउ वितरण गर्दा रैथाने बाली मासिने खतरा भएकाले सबै किसिमको बाली विकास गर्न धानखेतीका लागि खासै सहयोग नगरेको वडा अध्यक्ष महर्जनको भनाइ थियो ।

स्थानीय ज्ञानभक्त डंगोलले समयमै पानी परेको कारण रोपाइँ सकिएको तर मलबिनानै रोपाइँ गर्न बाध्य भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सरकार जति पनि मल छ भन्छ, हामीले मलको मुख नै नदेखी रोपाइँ सक्यौँ ।’ उहाँका अनुसार खोकनामा ताइचिन, एक्ले, पोखरेली मसिनो धान रोपाइँ गरिएको छ ।

कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं मलसम्बन्धी गुनासो सुन्ने अधिकारी डा.रामकृष्ण श्रेष्ठले मधेस र बागमतीलगायत प्रदेशका किसानले आवश्यकभन्दा बढी मल प्रयोग गरेको कारण समस्या भएको जिकिर गर्दै भन्नुभयो– ‘मल आपूर्तिमा समस्या छैन, आवश्यक्ताअनुसार तोकिएका डिपो वा सहकारीमा गएर मल लिन सक्नुहुन्छ ।’ उहाँले अधिकांसले युरिया मात्र प्रयोग गरेको कारण अभाव देखिएको तर्क गर्दै डिएपी र पोटासको खासै अभाव नभएको दाबी गर्दै भन्नुभयो– ‘सरकारले १७ लाख ३७ हजार टन सिफारिस गरेको थियो । हिमाल र पहाडको तुलनामा तराईमा बढी खपत हुन्छ । तैपनि सबै हिसाब गर्दा ८ लाख टन मल भए रोपाइँ गर्न पुग्छ ।’ युरिया वा अन्य रसायनिक मल कम प्रयोग गरेर बढी मात्रामा गँुइठे ,हरियो र प्राङ्गारिक मलको प्रयोग गर्ने बानी बसाल्नु अनिवार्य भैसकेको टिप्पणी गर्दै उहाँले माटाको अम्लियपन नियन्त्रण गर्न पनि रासायनिक मलको मात्र घटाउनु आवश्यक रहेको बताउनुभयो ।

राजधानीको खोकनामा मल नपाएको विषयमा उहाँले भन्नुभयो– ‘लिने स्थानको जानकारी नभएर होला, सहकारी वा डिपोमा सजिलै पाउन सकिन्छ ।’ उहाँले मल अभाव हुन नदिने प्रदेश र स्थानीय तहलाई सक्रिय बनाएको बताउनुभयो । खोकनाको हकमा ललितपुर महानगरमा सम्पर्क गरेर अवस्था बुझ्न सकिने जिकिर गर्दै उहाँले जेठ २६ गते ललितपुर महानगर क्षेत्रका किसानलाई पुग्ने गरी २० टन मल व्यवस्था गरिएको बताउनुभयो ।