काठमाडौँ ।
विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (Great Wall Motor) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ। काठमाडौँस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ। ‘डिजाइन विथ इन्टेलिजेन्स, शेप्ड बाइ एलेग्यान्स’ अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको छ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको अनुभव प्रदान गर्नेछ।
ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
गाडीको प्रमुख विशेषतामध्ये एकपटकको पूर्ण चार्जमा अधिकतम ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज रहेको छ। यसमा २०० एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, प्रिमियम सिट, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, १८० डिग्री च्यासिस भ्यु क्यामेरा तथा सेल्फ–हिलिङ पेन्ट टेक्नोलोजी जस्ता सुविधा समावेश छन्।

सुरक्षाका दृष्टिले ओरा ५ ईभीले ५–स्टार ANCAP तथा ५–स्टार Euro NCAP सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ। यसमा २५ भन्दा बढी एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) फिचर, लेन किप असिस्ट, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, एडाप्टिभ क्रुज कन्ट्रोल तथा ट्राफिक साइन रिकग्निसनजस्ता प्रविधि समावेश छन्।
जीडब्लुएम हाल विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रमा उपस्थित छ। कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।
कार्यक्रममा कम्पनीका प्रतिनिधिहरूले नेपालमा विद्युतीय सवारीसाधनको बढ्दो मागलाई ध्यानमा राख्दै विश्वस्तरीय प्रविधि, सुरक्षा तथा प्रिमियम अनुभव नेपाली बजारमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।
ओरा ५ ईभीले नेपालमा स्मार्ट, सुरक्षित तथा वातावरणमैत्री यातायातको नयाँ मानक स्थापित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।











प्रतिक्रिया