हराएको ३३ बर्षपछि दोलखा फर्किएका आकाश भैरव !

0
Shares

दोलखा/

दोलखा सहरबाट ३३ वर्ष अघि हराएका आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति असार ४ गते (बिहीबार) साबिक ठाँउमा प्रतिस्थापन गरिएको छ । आकाश भैरवका ती मूर्तिहरू २०५० साल फागुन– २२ गते र २०५१ साल फागुन– २४ गते नक्छे प्रधान परिवारको कूल घरबाट हराएका (चोरी भएको) थिए । 

चोरी भएर अमेरीका पुगेका ती मूर्तिहरू नेपाल फर्काइए पछि असार ४ गते बिहीबार सदरमुकाम चरिकोटबाटै बाजागाजा सहित बजार परिक्रमा गराउँदै दोलखा सहर पु¥याएर साबिक नक्छे प्रधान परिवारको कूल घरमा प्रतिस्थापन गरिएको पत्रकार उपेन्द्र प्रधानले बताए । 

दोलखा सहरबाट हराएको उक्त मूर्ति कसैले चोरी गरी अमेरीकामा पु¥याएका थिए । अमेरीकाको न्युर्योक स्थित रुविन र डल्लास आर्ट म्युजियम पुगेको ती दुई मूर्ति २०८० मंसिर १८ गते न्युर्योक एटोर्नी जर्नरल अफिसबाट न्युर्योकमा रहेको नेपाली बाणिज्य दुतावासलाई हस्तान्तरण गरिएको थियो । 

२०८० माघ १७ गते पुरातत्त्व विभागले आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति नेपाल आएको जानकारी दिएपछि २०८० माघ १८ गतेदेखी ती मूर्तीहरुलाई नेपाल राष्ट्रिय संग्राहलयको प्रर्दशन कक्षमा राखिएको थियो ।

मूर्ति हराएको २४ वर्ष पछि २०७४ भाद्र २० गते इन्द्रजात्राको अवसरमा स्थानीय अभियन्ता अनिलचन्द्र श्रेष्ठले चोरी भएको आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्तिको तस्विर आफ्नो फेसबुक पेजमा राख्दै ‘फोटोमा मात्र देख्न सक्छौ हाम्रो हाँथ्व देउ’ भनेर लेखेका थिए । अनिलचन्द्र श्रेष्ठको उक्त पोस्टकै आधारमा २०७९ भाद्रमा बाँपिझ्याला मिडियामा पत्रकार बालकृष्ण पासाले आकाश भैरव (हाँथ्व देउ) बारे विवरण सार्वजनिक गरेपछि यसको खोजी सुरु भएको थियो । यी दुई मूर्तिको खोजीमा लस्ट आर्टस् अफ नेपालले सहयोग गरेको स्थानीयको भनाई छ । 

लस्ट आर्टस् अफ नेपालले खोजिकै क्रममा २०७९ आशोज २ गते आफ्नो फेसबुक पेजबाट अमेरीकाको रुविन र डल्लास म्युजियममा आकाश भैरव (हाँथ्व देउ) का दुई मूर्ति रहेको विवरण सार्वजनिक गरेपछि मूर्तीलाई नेपाल ल्याउने प्रकृया सुरु गरिएको अभियन्ता अनिलचन्द्र श्रेष्ठले बताए । 

दुई मूर्ति अमेरीकाको म्युजियममा रहेको जानकारी आएपछि अनिलचन्द्र श्रेष्ठ र सांस्कृतिक अभियन्ता यज्ञकुमार प्रधानले मूर्ति हराएको समयमा जिल्ला प्रहरी कार्यालय दोलखा र हनुमानढोका प्रहरी कार्यालय काठमाडौँमा जाहेरी दिएको कागजात संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानका सचिव सञ्जय अधिकारीलाई उपलब्ध गराएपछि उनले पुरातत्त्व विभागमा जाहेरी दिएका थिए ।

उक्त जाहेरी पछि नेपाल सम्पदा संरक्षण अभियानका सचिव सञ्जय अधिकारी, अभियन्ता अनिलचन्द्र श्रेष्ठ र यज्ञकुमार प्रधानले पटक– पटक न्युर्योक स्थित अमेरीकाका महान्यायधिवक्तासंग छलफल गरेका थिए । सोही क्रममा पुरातत्त्व विभागका अधिकृत सरिता सुवेदीले दोलखा सहरमा स्थानीय सांस्कृतिक अध्यता एवम् अभियन्ता शान्तकृष्ण श्रेष्ठको सहयोगमा नक्छे प्रधान परिवारको कूल घरमा रहेको आकाश भैरव (हाँथ्व देउ) को घाँटीको अवलोकन र त्यहाँ रहेको इन्सक्रिप्सनको फोटो खिचेर लगेपछि उक्त मूर्तिहरू नेपाल ल्याउन सकिएको अभियन्ता अनिलचन्द्र श्रेष्ठले जनाएका छन् । 

मूर्ति नेपाल ल्याउने क्रममा नेवा गुठी न्युर्योकका अध्यक्ष विजयमान सिंह र सचिव प्रेमगोपाल मर्हजनको समेत महत्त्वपूर्ण सहयोग रहेको नक्छे प्रधान परिवारको कूलका सदस्यहरुले बताएका छन् ।