काठमाडौं
नेपालकी पहिलो ट्रान्स महिला सगरमाथा आरोही निलम पौडेलले आफ्नो जीवन यात्राका संघर्ष, आर्थिक चुनौती, सामाजिक विभेद र सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छन्।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पौडेलले सन् २०२० देखि सुरु भएको आफ्नो सगरमाथा आरोहण अभियान सहज नभएको बताइन्। उनले सुरुवातमै टोली निर्माणदेखि सहयोग जुटाउने क्रममा धेरै चुनौती सामना गर्नुपरेको उल्लेख गरिन्।
‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। टिम बनाएर अघि बढ्दा कतिपयले बीचमै साथ छाड्नुभयो। मिटिङमा सकारात्मक कुरा भए पनि पछि फोन नउठाउने, सन्देशको जवाफ नदिने जस्ता व्यवहार भयो,’ उनले भनिन्।
उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण आफूलाई कमजोर ठानिएको थियो। धेरै ठाउँमा प्रस्ताव लिएर जाँदा पनि अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।
‘मानिसहरूले म ट्रान्स भएकै कारण यो काम गर्न सक्दिन होला भनेर सोच्नुभयो। तर केही व्यक्तिहरूले विश्वास गर्नुभयो, साथ दिनुभयो र सहयोग जुटाउन मद्दत गर्नुभयो,’ उनले भनिन्।
आर्थिक अभावका कारण व्यक्तिगत बचत प्रयोग गर्नुपरेको, केही सम्पत्ति बेच्नुपरेको र विभिन्न माध्यमबाट खर्च व्यवस्थापन गर्नुपरेको पनि उनले बताइन्।
सगरमाथा आरोहणको अनुभव सुनाउँदै पौडेलले भनिन्, ‘बेस क्याम्पदेखि नै यात्रा निकै कठिन थियो। माथि जाँदै गर्दा आरोहीहरूको अवस्था देखेर डर लाग्थ्यो, तर म सक्छु भन्ने आत्मविश्वासले अघि बढ्न प्रेरित गरिरह्यो।’
उनले आफ्नो सफलतालाई व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण ट्रान्स समुदायका लागि प्रेरणादायी उपलब्धिका रूपमा व्याख्या गरिन्। अवसर र समर्थन पाए ट्रान्स समुदायका व्यक्तिहरूले पनि ठूला लक्ष्य हासिल गर्न सक्ने उनको विश्वास छ।
कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठ, अभिनेत्री उषा रजक, पूजा लामा तथा ब्लु डायमन्ड सोसाइटीकी पूर्व अध्यक्ष पिंकी गुरुङलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै सांसद अनुष्का श्रेष्ठले निलम पौडेललाई बधाई दिँदै उनको उपलब्धिलाई समुदायको ऐतिहासिक सफलता भएको बताइन्।
‘आफ्नो क्षेत्रमा निरन्तर काम गर्दै अगाडि बढ्नु नै सबैभन्दा ठूलो कुरा हो। यो तपाईं र तपाईंको उपलब्धिलाई उत्सवका रूपमा मनाउने क्षण हो,’ उनले भनिन्।
श्रेष्ठले निलमको सगरमाथा आरोहणलाई व्यक्तिगत संघर्षसँगै समुदायले भोग्दै आएका चुनौतीमाथिको विजयको प्रतीकका रूपमा व्याख्या गरिन्। सरकार र समाज दुवै तहमा समावेशीकरण तथा प्रतिनिधित्व बढ्दै गएको उल्लेख गर्दै उनले यसलाई सकारात्मक परिवर्तनको संकेत भएको बताइन्।
‘यो केवल नामका लागि गरिएको समावेशीकरण होइन, वास्तविक परिवर्तनको सुरुवात हो,’ उनले भनिन्।
सांसद श्रेष्ठले निलम पौडेलको उपलब्धिलाई ऐतिहासिक भन्दै यसले अन्य सीमान्तकृत समुदायलाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरिन्।
‘यो केवल सगरमाथा आरोहण होइन, इतिहास निर्माण गर्ने क्षण हो,’ उनले भनिन्।











प्रतिक्रिया