अनुमति नभएको अस्पतालमा कार्यरत तीन चिनियाँ चिकित्सकको अस्थायी दर्ता निलम्बन


काठमाडौं।

नेपाल मेडिकल काउन्सिलले अनुमति नलिएको स्वास्थ्य संस्थामा आवद्ध भएर चिकित्सा अभ्यास गरेको आरोपमा तीन जना चिनियाँ चिकित्सकको विदेशी नागरिक चिकित्सक अस्थायी दर्ता निलम्बन गरेको छ।काउन्सिलको गत १८ जेठमा बसेको पूर्ण बैठकले उक्त निर्णय गरेको हो।


निलम्बनमा पर्ने चिकित्सकहरूमा:
डा उ सिएनलिन
डा चेन सिएलिन
डा लिउ जिकिन
रहेका छन्।
काउन्सिलका रजिष्ट्रार डा दीपेन्द्र पाण्डेका अनुसार ती तीनै जना चिकित्सकले काउन्सिलमा दर्ता नभएको बालुवाटारस्थित मारिया हस्पिटलमा कार्यरत रही चिकित्सा सेवा दिइरहेका थिए।

उक्त अस्पतालबारे उजुरी परेपछि काउन्सिलले गत १ जेठमा अनुगमन टोली गठन गरी निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा अस्पताल गैरकानूनी रूपमा सञ्चालन भएको तथा विदेशी चिकित्सकहरू दर्ता र स्वीकृतिको सर्त विपरीत कार्यरत रहेको तथ्य फेला परेको काउन्सिलले जनाएको छ।

रजिष्ट्रार डा पाण्डेद्वारा जारी विज्ञप्तिअनुसार, भिसाको सर्त विपरीत अवैध संस्थामा काम गरेका ती विदेशी चिकित्सकहरूको कार्य सहमति तत्काल रद्द गर्न, उनीहरूको गैर–पर्यटकीय भिसा तथा श्रम इजाजत खारेज गर्न र आवश्यक अन्य कानुनी प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

त्यसैगरी, काउन्सिलले बिना दर्ता सञ्चालन भएको उक्त अस्पताललाई भौतिक रूपमा बन्द गरी आवश्यक कारबाही गर्न काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसर काठमाडौंमा समेत उजुरी दिएको जनाएको छ।

यस्तै, अस्पतालको प्रचारप्रसारका क्रममा आफ्नो नाम, दर्ता नम्बर र कार्यरत संस्थाको नाम उल्लेख गरिएको विषयमा त्यहाँ कार्यरत केही नेपाली चिकित्सकसँग पनि काउन्सिलले तीन दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

यो घटनाले नेपालमा विदेशी चिकित्सकको अभ्यास, स्वास्थ्य संस्थाको दर्ता प्रक्रिया र नियामक निकायको अनुगमन प्रभावकारितामाथि पुनः प्रश्न उठाएको छ।