‘मृत्युमार्ग’ बन्दै नेपाली सडक

दैनिक ७ जनाको मृत्यु

752
Shares

–पाँच वर्षमा १ लाख २० हजार दुर्घटना
–१२ हजार ६ सय ७७ को मृत्यु
–१ लाख ६४ हजारभन्दा बढी घाइते
–युवापुस्ता सबैभन्दा बढी जोखिममा

काठमाडौं ।

नेपालमा सडक दुर्घटना अहिले केवल ट्राफिक व्यवस्थापनको विषय मात्र रहेन, यो सार्वजनिक सुरक्षा, जनस्वास्थ्य र राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको गम्भीर संकटका रूपमा देखापरेको छ । सडक विस्तार, सवारी साधनको बढ्दो संख्या र यातायात पहुँचमा सुधार भए पनि सडक सुरक्षाको अवस्था भने चिन्ताजनक बन्दै गएको पछिल्लो पाँच वर्षको तथ्यांकले देखाएको छ ।

नेपाल प्रहरीको ट्राफिक व्यवस्थापनसम्बन्धी तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ देखि २०८१÷८२ सम्म देशभर १ लाख २० हजार ३ सय ९३ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १२ हजार ६ सय ७७ जनाले ज्यान गुमाएका छन् भने १ लाख ६४ हजार ६ सय ९३ जना घाइते भएका छन् । घाइतेमध्ये ३२ हजार ६ सय ४ जना गम्भीर घाइते र १ लाख ३२ हजार ८९ जना सामान्य घाइते भएका छन् ।

यी तथ्यांकलाई दैनिक औसतमा हेर्दा नेपालमा हरेक दिन ६६ भन्दा बढी सडक दुर्घटना, ७ जनाको मृत्यु र ९० जनाभन्दा बढी व्यक्ति घाइते हुने गरेको देखिन्छ । अर्थात्, देशका सडकहरू दिनप्रतिदिन सर्वसाधारणका लागि जोखिमपूर्ण बन्दै गएका छन् । आर्थिक वर्ष २०७७÷७८ मा २० हजार ६ सय ४० दुर्घटना हुँदा २ हजार ५ सय जनाको मृत्यु, ६ हजार ४ सय ४८ गम्भीर घाइते र १८ हजार ६ सय सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८÷७९ मा दुर्घटनाको संख्या बढेर २४ हजार ५ सय ३७ पुगेको थियो । उक्त वर्ष २ हजार ८ सय ८३ जनाको मृत्यु, ७ हजार २ सय ८२ गम्भीर घाइते तथा २५ हजार ७ सय २२ सामान्य घाइते भएका थिए । यो पाँच वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष मानिएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा २३ हजार ५९७ दुर्घटना हुँदा २ हजार ३७६ जनाको मृत्यु, ५ हजार ७३८ गम्भीर घाइते र २४ हजार ४८८ सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०८०÷८१ मा २२ हजार ९२७ दुर्घटना भएका थिए । ती दुर्घटनामा २ हजार ३६९ जनाको मृत्यु, ६ हजार १६० गम्भीर घाइते तथा २५ हजार ९९६ सामान्य घाइते भएका थिए ।

सबैभन्दा पछिल्लो आर्थिक वर्ष २०८१÷८२ मा भने दुर्घटनाको संख्या फेरि उल्लेखनीय रूपमा बढेको छ । उक्त वर्षमात्रै २८ हजार ६९२ दुर्घटना भएका छन् । ती दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु, ६ हजार ९७६ गम्भीर घाइते तथा ३७ हजार २८३ सामान्य घाइते भएका छन् । यो पाँच वर्षकै सबैभन्दा बढी दुर्घटना भएको वर्ष हो ।

तथ्यांकले देखाएको अर्को महत्वपूर्ण पक्ष के हो भने दुर्घटनाको संख्या केही वर्ष स्थिर जस्तो देखिए पनि मानवीय क्षति भने निरन्तर उच्च दरमै कायम छ । यसले सडक सुरक्षासम्बन्धी नीतिगत प्रयासहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको संकेत गर्दछ ।

नेपालमा सवारी साधनको संख्या बढ्दै जाँदा मोटरसाइकल तथा स्कुटरको प्रयोग तीव्र रूपमा बढेको छ । दुर्घटनामा संलग्न सवारी साधनको विवरण हेर्दा मोटरसाइकल तथा स्कुटर सबैभन्दा बढी दुर्घटनामा पर्ने सवारी साधनका रूपमा देखिएका छन् । त्यसपछि जीप, कार, बस, ट्रक तथा माइक्रोबसको स्थान रहेको छ ।

विशेषगरी १८ देखि ४० वर्ष उमेर समूहका युवा मोटरसाइकल प्रयोगकर्ता बढी भएकाले मृत्यु हुने तथा घाइते हुनेमध्ये अधिकांश यही उमेर समूहका रहेका छन् । यसले सडक दुर्घटनाले देशको सबैभन्दा उत्पादनशील जनशक्तिलाई प्रभावित गरिरहेको देखाउँछ ।

सडक सुरक्षा विज्ञहरूका अनुसार दुर्घटनाका प्रमुख कारणमा तीव्र गति, चालकको लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति, जोखिमपूर्ण ओभरटेक, मोबाइल प्रयोग गर्दै सवारी चलाउने बानी, थकान, जीर्ण सडक र कमजोर ट्राफिक अनुशासन रहेका छन् ।

नेपालमा सडक विस्तारको गति तीव्र भए पनि सडक सुरक्षाको पूर्वाधार भने सोही अनुपातमा विकास हुन सकेको छैन । ग्रामीण तथा पहाडी क्षेत्रमा बनेका धेरै सडकहरू अझै पनि न्यूनतम सुरक्षा मापदण्डविना सञ्चालनमा छन् । सडक किनारामा सुरक्षा बार, संकेत चिह्न, रातिको प्रकाश व्यवस्था तथा आकस्मिक उद्धार प्रणालीको अभावले दुर्घटनाको जोखिम बढाएको विज्ञहरूको भनाइ छ ।

प्रदेशगत तथ्यांकले मधेस, वागमती, लुम्बिनी र कोशी प्रदेशमा दुर्घटनाको संख्या बढी रहेको देखाएको छ । ती प्रदेशहरूमा सवारी चाप अत्यधिक रहेको र प्रमुख राजमार्गहरू पर्ने भएकाले दुर्घटनाको दर पनि उच्च छ । विशेषगरी पूर्व–पश्चिम राजमार्ग, पृथ्वीराजमार्ग, बीपी राजमार्ग, काठमाडौं उपत्यका, पथलैया–बारा–सर्लाही सडकखण्ड तथा बुटवल–भैरहवा क्षेत्र दुर्घटनाका दृष्टिले संवेदनशील क्षेत्रका रूपमा चिनिएका छन् ।

सडक दुर्घटनाको प्रभाव केवल मानवीय क्षतिमा सीमित छैन । यसले राज्यको अर्थतन्त्रमा समेत ठूलो भार थपिरहेको छ । दुर्घटनापछि उपचार, उद्धार, बिमा, कानुनी प्रक्रिया र उत्पादनशील जनशक्ति गुम्दा राज्यले प्रत्येक वर्ष अर्बौं रुपियाँ बराबरको अप्रत्यक्ष क्षति बेहोर्नुपरेको विज्ञहरू बताउँछन् ।

गम्भीर घाइते भएका हजारौं व्यक्तिहरू दीर्घकालीन अपाङ्गता तथा स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् । यसले परिवारको आर्थिक अवस्था, शिक्षा र सामाजिक जीवनमा समेत प्रत्यक्ष असर पार्ने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार सडक दुर्घटना न्यूनीकरणका लागि प्रहरी एक्लैले मात्र सफल हुन सक्दैन । उहाँले भन्नुभयो–‘सडक दुर्घटना नियन्त्रणका लागि ट्राफिक नियमको कडाइ, चालकको जिम्मेवारी, सवारी साधनको प्राविधिक अवस्था, सडक पूर्वाधार र नागरिकको चेतना सबै पक्ष उत्तिकै महत्वपूर्ण छन् । पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधारका प्रयास भएका छन्, तर दुर्घटनाको दर हेर्दा अझ धेरै काम गर्न बाँकी छ ।’

उहाँका अनुसार प्रहरीले सडक सुरक्षा अभियान, चालक सचेतना कार्यक्रम, मापसे जाँच तथा नियम उल्लंघनविरुद्ध कारबाहीलाई निरन्तरता दिएको छ । तर, दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार, सडक विभाग, यातायात व्यवसायी र आम नागरिकको पनि समान भूमिका आवश्यक छ ।

पछिल्लो पाँच वर्षमा १ लाख २० हजारभन्दा बढी दुर्घटना, १२ हजार ६ सय ७७ जनाको मृत्यु र १ लाख ६४ हजारभन्दा बढी घाइते हुनु सामान्य अवस्था होइन । यो नेपालले सामना गरिरहेको मौन राष्ट्रिय संकट हो ।
यदि, सडक सुरक्षा, चालक प्रशिक्षण, सवारी परीक्षण, ट्राफिक अनुशासन, सुरक्षित सडक पूर्वाधार र कानुनी कार्यान्वयनलाई प्रभावकारी रूपमा लागू गर्न सकिएन भने आगामी वर्षहरूमा दुर्घटनाको यो भयावह ग्राफ अझै माथि जाने खतरा छ । त्यसैले सडकलाई सुरक्षित बनाउने जिम्मेवारी केवल प्रहरी वा सरकारको मात्र होइन, सम्पूर्ण समाजको साझा दायित्व हो ।