काठमाडौँ।
विश्व वातावरण दिवस २०२६ को अवसरमा मेटलाइफ नेपालले शंखरापुर नगरपालिका अन्तर्गत पर्ने पताप गाउँमा वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
मेटलाइफ फाउन्डेसनको आर्थिक सहयोग तथा आर्बर डे फाउन्डेसन र फिल्ड इन्स्टिच्युट फर इकोकल्चरल रिस्टोरेशन (इको कल्चर) सँगको सहकार्यमा जुन ६, २०२६ मा आयोजित उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।
कार्यक्रममा मेटलाइफ नेपालका करिब ५० जना स्वयंसेवकहरूले एफ ०२६ राजमार्ग तथा शंखरापुर सडक करिडोर आसपास करिब ५०० वटा फलफूल तथा स्थानीय प्रजातिका बिरुवाहरू रोपेका थिए। रोपिएका बिरुवामा टिमुर, ओखर, आरु लगायतका प्रजाति समावेश छन्।
कार्यक्रमको उद्देश्य एकल बाली प्रणालीबाट दिगो कृषि–वन प्रणाली (एग्रोफरेस्ट्री) तर्फ रूपान्तरण गर्दै वातावरणीय संरक्षणसँगै स्थानीय समुदायका लागि दीर्घकालीन आम्दानीका अवसर सिर्जना गर्नु रहेको आयोजकले जनाएको छ।
हिमाली फेदीमा अवस्थित पताप गाउँ माटो कटान, बाढी तथा पहिरो जस्ता जोखिमप्रति संवेदनशील क्षेत्र भएकाले वृक्षारोपणमार्फत जमिनको स्थायित्व, जैविक विविधता संरक्षण तथा समुदायको उत्थानशीलता सुदृढ गर्ने लक्ष्य राखिएको छ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यो परियोजनाले कम्पनीको सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतारेको उल्लेख गर्दै वातावरणीय पुनर्स्थापना र समुदायको जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
फिल्ड इन्स्टिच्युटले रोपिएका बिरुवाहरूको दीर्घकालीन संरक्षण र अनुगमनका लागि स्थानीय समुदायसँग निरन्तर सहकार्य गर्ने जनाएको छ।
मेटलाइफ फाउन्डेसनका अनुसार संस्थाले आर्थिक सशक्तिकरण, वित्तीय स्वास्थ्य र लचिलो समुदाय निर्माणलाई प्राथमिकता दिँदै विश्वभर वातावरण र समुदाय विकासका परियोजनामा सहयोग गर्दै आएको छ।
त्यसैगरी आर्बर डे फाउन्डेसनले विश्वव्यापी रूपमा वृक्षारोपण र वन संरक्षण अभियान सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत हालसम्म करोडौँ रुख रोपिएको जनाएको छ।











प्रतिक्रिया