पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा


काठमाडौँ ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि मध्यम वर्षा हुनसक्ने जनाइएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी भूभाग र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका साथै बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।