रेमिट्यान्समा ऐतिहासिक उछाल : १० महिनामै १९ खर्ब १६ अर्ब भित्रियो, अर्थतन्त्रलाई ठूलो टेवा

0
Shares

काठमाडौं । नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक मानिएको विप्रेषण (रेमिट्यान्स) आप्रवाह चालु आर्थिक वर्षको पहिलो १० महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाखसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो। यस वर्षको वृद्धि दरले नेपाली अर्थतन्त्रमा वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीको योगदान झनै बलियो बनेको संकेत गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको वैशाखमा यस्तो रकम १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रहेको थियो। एक वर्षको अवधिमा वैशाख महिनाको रेमिट्यान्स आप्रवाहमा भएको तीव्र वृद्धिले विदेशमा कार्यरत नेपालीबाट देशमा आउने रकम निरन्तर बढिरहेको देखाएको छ।

अमेरिकी डलरमा समेत रेमिट्यान्स आप्रवाह उल्लेखनीय रूपमा बढेको छ। चालु आवको १० महिनामा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत मात्रै रहेको थियो।

रेमिट्यान्स वृद्धिसँगै खुद द्वितीय आय (नेट ट्रान्सफर) मा पनि उल्लेख्य सुधार देखिएको छ। समीक्षा अवधिमा खुद द्वितीय आय २० खर्ब ९१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ८० अर्ब २८ करोड रुपैयाँ थियो। यसले विदेशी आम्दानीले नेपालको बाह्य क्षेत्रलाई थप मजबुत बनाएको संकेत गरेको छ।

यद्यपि रेमिट्यान्स बढे पनि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको देखिएको छ। राष्ट्र बैंकका अनुसार चालु आवको १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ तथा व्यक्तिगत) लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४ लाख ५ हजार ६१० थियो।

यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ। चालु आवको १० महिनामा पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ पुगेको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा यो संख्या २ लाख ८० हजार ३१४ रहेको थियो।

अर्थविद्हरूका अनुसार रेमिट्यान्समा भएको तीव्र वृद्धिले विदेशी मुद्रा सञ्चिति, बैंकिङ प्रणालीमा तरलता, आयात धान्न सक्ने क्षमता तथा समग्र अर्थतन्त्रलाई सकारात्मक प्रभाव पारेको छ। तर दीर्घकालीन रूपमा रेमिट्यान्समा अत्यधिक निर्भरता अर्थतन्त्रका लागि चुनौतीपूर्ण हुन सक्ने भएकाले उत्पादन, उद्योग, कृषि र रोजगारी सिर्जना गर्ने क्षेत्रलाई समानान्तर रूपमा बलियो बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।

पछिल्ला महिनाहरूमा रेमिट्यान्स आप्रवाहले लगातार नयाँ कीर्तिमान बनाइरहेको छ। यसले एकातिर विदेशी मुद्रा सञ्चितिलाई बलियो बनाएको छ भने अर्कोतर्फ देशको शोधनान्तर स्थिति र बाह्य क्षेत्रको स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको देखिन्छ।