धादिङका १३ स्थानीय तहलाई झन्डै ५ अर्ब बजेट, बेनीघाट रोराङले सबैभन्दा बढी प्राप्त गर्ने


धादिङ । संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि धादिङ जिल्लाका १३ वटै स्थानीय तहका लागि कुल ४ अर्ब ९७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। दुई नगरपालिका र ११ गाउँपालिका रहेको जिल्लामा स्थानीय पूर्वाधार, सेवा प्रवाह र विकास कार्यक्रम सञ्चालनका लागि उक्त बजेट छुट्याइएको हो।

विनियोजित बजेटअनुसार जिल्लामध्ये बेनीघाट रोराङ गाउँपालिका ले सबैभन्दा बढी ४८ करोड ८१ लाख रुपैयाँ प्राप्त गरेको छ। भौगोलिक क्षेत्रफल, जनसंख्या तथा विकास आवश्यकतालाई आधार बनाएर बजेट विनियोजन गरिएको जनाइएको छ।

त्यसैगरी, जिल्लाको दुर्गम हिमाली क्षेत्र रहेको रुवी भ्याली गाउँपालिका ले सबैभन्दा कम २० करोड ७१ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ।

संघीय सरकारको बजेट विनियोजनसँगै स्थानीय तहहरूले आगामी आर्थिक वर्षका विकास योजना, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा स्थानीय सेवा प्रवाहका कार्यक्रमलाई गति दिने अपेक्षा गरिएको छ।

स्थानीय तहहरूलाई प्राप्त हुने अनुदान तथा वित्तीय हस्तान्तरणले विकास निर्माणका कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। बजेटको प्रभावकारी कार्यान्वयन र पारदर्शी खर्च व्यवस्थापन अब स्थानीय तहहरूको प्रमुख चुनौतीका रूपमा रहने देखिएको छ।

संघीय सरकारले स्थानीय सरकारलाई थप सशक्त बनाउने उद्देश्यसहित बजेट विनियोजन गरेको जनाएको छ भने स्थानीय जनप्रतिनिधिहरूले प्राप्त बजेटलाई जनमुखी कार्यक्रममार्फत परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।