बिरालो संसारकै सबैभन्दा लोकप्रिय घरपालुवा जनावरमध्ये एक हो। बिरालो केवल प्यारो घरपालुवा जनावर मात्र होइन, अत्यन्तै बुद्धिमान, संवेदनशील र वैज्ञानिक रूपमा रोचक प्राणी पनि हो। उसले तपाईंलाई माया गर्न सक्छ, मौसमको संकेत पहिल्यै पाउन सक्छ र आफ्ना जुँगाको सहायताले अँध्यारोमा समेत शिकार गर्न सक्छ। विज्ञानले पुष्टि गरेका यी ८ रोचक तथ्यहरूले तपाईंको बिरालोलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्नेछन्।
१. बिस्तारै आँखा झिम्क्याएर बिरालोसँग मित्रता गर्न सकिन्छ
वैज्ञानिकहरूले पत्ता लगाए अनुसार बिरालोलाई बिस्तारै आँखा झिम्क्याउनु भनेको उसको भाषामा मुस्कुराउनु जस्तै हो।बेलायतका पोट्र्समाउथ र ससेक्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा मानिसले बिरालोलाई स्लो ब्लिङ्क गर्दा बिरालोले पनि त्यसैगरी प्रतिक्रिया दिने र दुवैबीचको सम्बन्ध बलियो हुने देखिएको छ।यदि कुनै बिरालोसँग मित्रता गर्न चाहनुहुन्छ भने आरामदायी मुस्कानझैँ आँखा साँघुरो पारेर केही सेकेन्ड बन्द गर्नुहोस्। बिरालोले पनि त्यस्तै प्रतिक्रिया दिन सक्छ।
२. प्रत्येक १० मध्ये १ घरपालुवा बिरालोमा ‘सेपरेशन एन्जाइटी’ हुन्छ
अनुसन्धानअनुसार करिब १३.५ प्रतिशत बिरालोले मालिकबाट टाढा हुँदा तनाव र चिन्ताको लक्षण देखाउँछन्। यस्ता बिरालोहरूमा, धेरै कराउने, सामान बिगार्ने,गलत ठाउँमा पिसाब वा दिसा गर्ने,आक्रामक बन्ने,उदास देखिने जस्ता व्यवहार देखिने गरेको छ।
३. तपाईंको बिरालोले साँच्चै तपाईंलाई माया गर्छ
धेरै मानिसलाई बिरालोले खाना पाउने भएकाले मात्र साथ दिन्छ भन्ने लाग्न सक्छ। तर विज्ञानले त्यो पूर्ण रूपमा सही नभएको देखाएको छ। अनुसन्धानले बिरालोले आफ्नो मालिकसँग सुरक्षित सम्बन्ध विकास गर्ने देखाएको छ। मालिकको उपस्थितिमा बिरालो शान्त र सुरक्षित महसुस गर्छ। बिरालोलाई माया गरेर छोएपछि उसको मस्तिष्कमा पनि मानिसले प्रियजनसँग हुँदा उत्पन्न हुने जस्तै ‘खुसीका हर्मोन’ सक्रिय हुन्छन्।
४. बिरालोले आँधी–हुरी आउनुअघि नै थाहा पाउन सक्छ
बिरालोको सुन्ने, सुँघ्ने र वातावरणीय दबाब महसुस गर्ने क्षमता मानिसको भन्दा निकै तीव्र हुन्छ ।त्यसैले वायु दवाब घट्दा,टाढाको गर्जन सुनिँदा,वर्षाको गन्ध आउँदा बिजुलीबाट उत्पन्न हुने ओजोनको गन्ध महसुस हुँदा उसले पहिले नै संकेत पाउने गर्छ।
५. बिरालोलाई बाकस किन यति मन पर्छ?
तपाईंले बिरालोलाई कार्डबोर्डको सानो बाकसभित्र बसेको देख्नुभएको होला। यसको मुख्य कारण उसले त्यहाँ सुरक्षित महसुस गर्नु, आरामदायी निद्रा लिनु, शरीरको तापक्रम जोगाउनु हो। बिरालो मानिसभन्दा करिब १४ डिग्री सेल्सियस बढी तापक्रममा सहज महसुस गर्छ। त्यसैले सानो र न्यानो बाकस उसको लागि राम्रो स्थान हुन सक्छ ।
६. घरपालुवा बिरालोले वन्यजन्तुमा ठूलो असर पार्न सक्छ
सन् २०२० को एक अध्ययनअनुसार घरपालुवा बिरालोले समान आकारका जंगली शिकारीभन्दा २ देखि १० गुणासम्म बढी साना जनावर मार्न सक्छ। विशेषगरीः चराचुरुङ्गी, मुसा, साना स्तनधारी जनावर यसबाट प्रभावित हुन्छन्। बिरालोको गतिविधि प्रायः घर वरपर १०० मिटरको क्षेत्रभित्र केन्द्रित हुने भएकाले प्रभाव पनि त्यही क्षेत्रमा बढी देखिन्छ।
७. बिरालो शाकाहारी बन्न सक्दैन
बिरालो पूर्ण रूपमा मांसाहारी प्राणी हो। उसको शरीरलाई आवश्यक पर्ने केही पोषक तत्व, विशेष गरी टाउरिन प्राकृतिक रूपमा मासुबाट मात्र प्राप्त हुन्छ। टाउरिनको कमी भएमा अन्धोपन र मुटुसम्बन्धी समस्या देखिन सक्छ। त्यसैले बिरालोलाई पूर्ण रूपमा भेगन आहार दिनु निकै जोखिमपूर्ण मानिन्छ।
८. बिरालोका जुँगाले उसलाई उत्कृष्ट शिकारी बनाउँछन्
बिरालोका जुँगा केवल सजावटका लागि होइनन्। यी विशेष संवेदनशील रौँहरूले दूरी नाप्न,अँध्यारोमा बाटो पहिल्याउन,हावाको बहाव महसुस गर्न,शिकारको आकार र चाल पत्ता लगाउन मद्दत गर्छन्। यही कारणले बिरालो अँध्यारोमा पनि अत्यन्तै फुर्तिलो र सफल शिकारी बन्न सक्छ ।
(एजेन्सीको सहयोगमा)











प्रतिक्रिया