प्रतिनिधिसभा बैठक आज दिउँसो पुनः बस्दै

संसद् अवरुद्ध हुँदा बजेटका महत्वपूर्ण विषयहरूमा हुन पाएन छलफल


काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत–नेपाल सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर उत्पन्न विवाद चर्किएपछि स्थगित भएको सोमवारको प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे सुरु हुँदैछ ।

विपक्षी दलहरूले लगातार संसद् अवरुद्ध गर्दै आएकोमा हिजो पनि अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै गर्न नपाई सूचना टाँसेर आज मंगलवारसम्मका लागि स्थगित गरिएको हो । सभामुख डीपी अर्यालले संवाद गर्दै सदनको काम पनि अघि बढाउन गरेको आग्रहप्रति विपक्षी सांसदहरूले बेवास्ता गर्दै उठेर सदन अवरुद्ध गरेका थिए । त्यसपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठकपछि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले सूचना जारी गर्दै मंगलवार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले संसद्मा दिनुभएको ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति फिर्ता लिएर माफी नमागेसम्म सदन चल्न नदिने अडान राख्दै विपक्षी दलहरूले सो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर माफी माग्नुपर्ने माग राख्दै आएका थिए ।

सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले गत १९ गते संसद्मा दिएको मन्तव्यको घोर भत्र्सना गर्दै सो विषयमा तत्काल प्रष्टीकरण दिन माग गर्नुभयो । चार दिनदेखि संसद् अवरुद्ध भइरहँदा पनि दलहरूबीच भएको छलफल र संवादको प्रगतिबारे सदनलाई जानकारी नदिइएकोमा सुब्बाले असन्तुष्टि व्यक्त गर्नुभयो ।

‘हामीले ४ दिनदेखि संसद् अवरुद्ध गर्दा संवाद कहाँ पुग्यो ? के–कस्तो छलफल भयो ? यसबारे हामीले जानकारी पाउनुपर्छ’ – उहाँले भन्नुभयो । संसद् ढिलो प्रारम्भ भएको र समय निकै कम भएकाले गम्भीर विषयहरू ओझेलमा पर्न नहुने र संसद्लाई निकास दिनु सभामुखको दायित्व भएको जिकिर गर्दै भन्नुभयो – ‘सभामुखलाई असफल हुने छुट छैन, तपाईंले हामीलाई डोहो¥याएर लैजाने हो । हाम्रा कमजोरी सच्याउन सकिन्छ, तर संसद्लाई चालू गर्न तपाईंले ठोस पहल गर्नुपर्छ ।’

संसद् अवरुद्ध हुँदा बजेटका महत्वपूर्ण विषयहरू, कृषिका समस्या, पहाडी र हिमाली क्षेत्रको बजेट विनियोजन र मुलुकको जटिल समस्याको रूपमा रहेको बसाईंसराइजस्ता विषयमा छलफल हुन नपाएको सुब्बाको भनाइ थियो । उहाँले संसद्प्रति उत्तरदायी भएर प्रधानमन्त्रीले आफ्ना अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने र नेपालको भूभाग मिचिएको विषयमा तथ्यगत रूपमा प्रस्तुत हुनुपर्ने कांग्रेसको माग रहेको स्पष्ट पार्नुभयो ।