कांग्रेस बाराका सभापति यादव निलम्बित, उपसभापति राउतलाई सफाइ


काठमाडौं ।

नेपाली कांग्रेसले बारा जिल्ला सभापति राजेश राय यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीको आधिकारिक उम्मेदवारलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा हराउन भूमिका खेलेको आरोपमा परेको उजुरीमाथि अनुसन्धान भइरहेका बेला उनलाई निलम्बन गरिएको हो।

पार्टीको केन्द्रीय अनुशासन समितिले यादवसँग पहिलो पटक २०८३ वैशाख ३० गते पाँच दिनभित्र स्पष्टिकरण माग गरेको थियो। तोकिएको समयभित्र जवाफ नआएपछि जेठ १२ गते पुनः तीन दिनको समय दिँदै दोस्रो पटक स्पष्टिकरण सोधिएको थियो। तर, उनले दुवै पटक कुनै जवाफ नदिएको समितिले जनाएको छ।

अनुशासन समितिले थप अनुसन्धान गर्नुपर्ने अवस्था रहेको र यादव जिल्ला सभापतिको जिम्मेवारीमा रहँदा अनुसन्धान प्रभावित हुन सक्ने निष्कर्ष निकाल्दै अन्तिम निर्णय नहुँदासम्मका लागि उनलाई पदमा रही कामकाज गर्न नपाउने गरी निलम्बन गर्ने निर्णय गरेको जनाएको छ।

यता, बारा जिल्ला कार्यसमितिका उपसभापति अमिरीलाल राउत (पाल) विरुद्ध परेको उजुरीका सम्बन्धमा भने अनुशासन समितिले सफाइ दिएको छ। समितिले मागेको स्पष्टिकरणमा राउतले जेठ १० गते जवाफ पेश गरेका थिए।

समितिका अनुसार राउतको स्पष्टिकरण सन्तोषजनक रहेको तथा थप जाँचबुझ र कागजात अध्ययनका क्रममा पनि उनीमाथि लगाइएका आरोप पुष्टि नभएकाले थप कारबाही आवश्यक नदेखिएको निष्कर्ष निकालिएको हो।यससँगै राउतले आफूविरुद्ध लगाइएका आरोपबाट सफाइ पाएका छन्।