न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकाको उपचारमा आईएमई लाइफको ३ लाख सहयोग


काठमाडौं ।

आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीले न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको जनाएको छ। सहयोग रकमबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन्।

आईएमई लाइफका अनुसार यस्ता समस्याबाट प्रभावित बालबालिकालाई समयमै उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ। साथै आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनर्स्थापना सेवा प्रदान गर्दै आएको छ। संस्थाको विशेषज्ञता र आईएमई लाइफको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

आईएमई लाइफ इन्स्योरेन्सले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रममार्फत निरन्तर योगदान गर्दै आएको जनाएको छ।