काठमाडौं ।
सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयको सवारी व्यवस्थापन शाखा (एमटी) मा भएको आगलागी घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी सन्दीप थापाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार समितिलाई घटनाको कारण, क्षतिको विवरण तथा सम्भावित लापरबाहीबारे यथाशीघ्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
बुधबार राति करिब ८ बजेतिर हल्चोकस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय परिसरभित्र रहेको एमटी शाखामा आगलागी भएको थियो। आगो बङ्गलामुखी गणबाट खटिएको सुरक्षाकर्मी टोली तथा दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
प्रारम्भिक विवरणअनुसार आगलागीबाट शाखामा पार्किङ गरिएका केही सवारीसाधन जलेर क्षति पुगेको छ। क्षतिको यकिन विवरण भने छानबिनपछि सार्वजनिक गरिने सशस्त्र प्रहरीले जनाएको छ।
आगलागीको कारण खुल्न बाँकी रहेको अवस्थामा छानबिन समितिले प्राविधिक परीक्षण, प्रत्यक्षदर्शीको बयान तथा सुरक्षा प्रणालीको अवस्थाबारे अध्ययन गर्ने बताइएको छ।
यसअघि पनि सशस्त्र प्रहरीको प्रधान कार्यालय परिसर तथा सतुङ्गलस्थित स्टोरमा आगलागीका घटना भएका थिए। पछिल्लो घटनापछि सुरक्षा व्यवस्थापन र आगलागी नियन्त्रण तयारीबारे समेत प्रश्न उठ्न थालेको छ।
सशस्त्र प्रहरीले घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको र तथ्यका आधारमा आवश्यक कारबाही गरिने जनाएको छ।











प्रतिक्रिया