हिमालयन बैंक–युनियनपे सहकार्यमा आरएमबी कार्ड सेवा सुरु


काठमाडौं
हिमालयन बैंक लिमिटेडले युनियनपे आरएमबी कार्ड सेवा सञ्चालनमा ल्याएको छ । बैंक र युनियनपे इन्टरनेसनलबीचको सहकार्यमा नेपालमा पहिलो पटक यो सेवा सुरु गरिएको हो, जसले चीन भ्रमण गर्ने ग्राहकलाई सहज तथा सुलभ भुक्तानी सुविधा दिने लक्ष्य राखेको छ ।

यो कार्डको प्रयोगबाट चीन भ्रमण गर्ने ग्राहकहरूले त्यहाँका एटीएम, पीओएस, क्यूआर कोड तथा ई–कमर्स प्लेटफर्ममार्फत चिनियाँ मुद्रा (सीएनवाई) मा सहज भुक्तानी गर्न सक्नेछन् । बैंकका अनुसार यो सेवा अन्य भुक्तानी माध्यमको तुलनामा बढी मितव्ययी र सर्वस्वीकार्य हुनेछ ।

विद्यार्थी, व्यवसायी तथा पर्यटकहरूले नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले तोकेको सीमाभित्र रकम लोड गरी युनियनपे सञ्जालसँग आबद्ध एलिपे प्लस, वीच्याट पे, निहाओ चाइना जस्ता क्यूआर तथा अन्य डिजिटल माध्यममार्फत पनि सीएनवाईमै कारोबार गर्न सक्नेछन् ।

नक्सालस्थित मेरियट होटलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र युनियनपे इन्टरनेसनलका उपाध्यक्ष झुआङ बेइले संयुक्त रूपमा उक्त कार्ड सेवाको शुभारम्भ गर्नुभयो ।