लमजुङ ।
ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालले वल्र्ड भिजन संगको साझेदारीमा आफ्नो कार्यक्षेत्रभित्रका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । शनिबार बेसीशहर क्षेत्रअन्तर्गतका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको आरसिडिसिकी बजार प्रतिनिधि सविता गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार आरसिडिसिद्वारा सञ्चालित बाल स्पोन्सरशिप कार्यक्रममा दर्ता भएका १ हजार ९ सय बालबालिकामध्ये हालसम्म सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका गरी १ हजार ८ सय बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिसकिएको छ । बाँकी रहेका १ सय बालबालिकालाई आइतबार सामग्री वितरण गरिने बताउनुभयो ।
बालबालिकाको पठनपाठनलाई सहज बनाउने तथा शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वितरण गरिएको सामग्रीमा कापी, कलम, पेन्सिल, इरेजर, कलर लगायत अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री समावेश रहेका छन् ।
कार्यक्रममा सहभागी अभिभावकहरुले यस्ता सहयोगले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । विद्यालय तहमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि बढाउन र नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्न समेत कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।
स्टेशनरी वितरण कार्यक्रममा वल्र्ड भिजनका जिल्ला संयोजक शुक्रराज गुरुङ, आरसिडिसिका कर्मचारीहरु तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
आरसिडिसि नेपालले वल्र्ड भिजनसँगको साझेदारीमा लमजुङका विभिन्न स्थानीय तहमा शिक्षा, स्वास्थ्य, पोषण, बाल संरक्षण तथा जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले आगामी दिनमा पनि बालबालिकाको समग्र विकास र शैक्षिक उन्नयनका लागि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।











प्रतिक्रिया