दिवा खाजा कार्यक्रम व्यवस्थापन सम्बन्धी अभिमुखीकरण सम्पन्न

0
Shares

लमजुङ ।

लमजुङमा सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखीकरण सम्पन्न भएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपालले वल्र्ड भिजन इन्टरनेशनल नेपाल संगको साझेदारीमा कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बेसीशहर नगरपालिका, सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका ३५ वटा सामुदायिक विद्यालयका ३५ जना स्वास्थ्य तथा पोषण फोकल शिक्षकहरुको सहभागिता रहेको थियो ।

विद्यालय तहमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी, व्यवस्थित तथा पोषणमैत्री बनाउने उद्देश्यले अभिमुखीकरण सञ्चालन गरिएको आरसिडिसिका बजार संयोजक दुर्गा प्रसाद ढुङगानले बताउनु भयो ।

तालिममा प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक दीपक बोम्जन, शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख दिवाकर शर्मा, वल्र्ड भिजन इन्टरनेशनल नेपालका जीविकोपार्जन संयोजक सुनिता दोलाङ्गी लगायतले सामुदायिक विद्यालयमा दिवा खाजाको प्रभावकारिता, दिवा खाजा सञ्चालन सम्बन्धी नीति तथा मापदण्ड, स्थानीय उत्पादनको उपयोग, खाद्य सुरक्षा, पोषणयुक्त भोजनको महत्व, बालबालिकाको स्वास्थ्य अवस्था सुधारमा दिवा खाजाको भूमिका, सरसफाइ तथा स्वस्थ जीवनशैली लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

विद्यालय दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि गर्नुका साथै सिकाइ उपलब्धि सुधार गर्न महत्वपूर्ण योगदान पुर्याउने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दिवाकर शर्माको भनाई छ । उहाँका अनुसार स्थानीय तह, विद्यालय र समुदायबीचको समन्वयबाट कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रासिडिसीका बजार संयोजक दुर्गा प्रसाद ढुङ्गानाले विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई दिगो, व्यवस्थित र पोषणमैत्री बनाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण रहने बताउनुभयो । उहाँले अभिमुखीकरणबाट प्राप्त ज्ञान र सीपलाई विद्यालयमा व्यवहारिक रुपमा लागू गरी विद्यार्थीको स्वास्थ्य, पोषण तथा शैक्षिक उपलब्धि सुधारमा योगदान पु¥याउन सहभागीहरुलाई आग्रह गर्नुभयो ।

दुई दिनसम्म सञ्चालन भएको अभिमुखीकरणमा सहभागी शिक्षकहरुले विद्यालयमा दिवा खाजा व्यवस्थापनका चुनौती, सम्भावना तथा असल अभ्यासबारे अनुभव आदानप्रदान गरेका थिए । कार्यक्रमले विद्यालय तहमा पोषणयुक्त दिवा खाजा व्यवस्थापन, खाद्य स्वच्छता तथा बालबालिकाको स्वास्थ्य प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको आयोजकले
जनाएको छ ।

आरसिडिसि नेपालद्धारा बालबालिकाको उज्यालो भविष्यका लागि स्टेशनरी सहयोग

ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि) नेपालले वल्र्ड भिजन संगको साझेदारीमा आफ्नो कार्यक्षेत्रभित्रका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरेको छ । शनिबार बेसीशहर क्षेत्रअन्तर्गतका बालबालिकाहरुलाई स्टेशनरी सामग्री वितरण गरिएको आरसिडिसिकी बजार प्रतिनिधि सविता गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार आरसिडिसिद्वारा सञ्चालित बाल स्पोन्सरशिप कार्यक्रममा दर्ता भएका १ हजार ९ सय बालबालिकामध्ये हालसम्म सुन्दरबजार नगरपालिका र दोर्दी गाउँपालिकाका गरी १ हजार ८ सय बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिसकिएको छ । बाँकी रहेका १ सय बालबालिकालाई आइतबार सामग्री वितरण गरिने बताउनुभयो ।

बालबालिकाको पठनपाठनलाई सहज बनाउने तथा शैक्षिक सामग्रीको अभावका कारण अध्ययनमा पर्ने असरलाई न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । वितरण गरिएको सामग्रीमा कापी, कलम, पेन्सिल, इरेजर, कलर लगायत अध्ययनका लागि आवश्यक स्टेशनरी सामग्री समावेश रहेका छन् ।

कार्यक्रममा सहभागी अभिभावकहरुले यस्ता सहयोगले बालबालिकाको शिक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए । विद्यालय तहमा अध्ययनरत बालबालिकाको सिकाइ उपलब्धि बढाउन र नियमित विद्यालय उपस्थितिलाई प्रोत्साहन गर्न समेत कार्यक्रम उपयोगी हुने अपेक्षा गरिएको छ ।

स्टेशनरी वितरण कार्यक्रममा वल्र्ड भिजनका जिल्ला संयोजक शुक्रराज गुरुङ, आरसिडिसिका कर्मचारीहरु तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

आरसिडिसि नेपालले वल्र्ड भिजनसँगको साझेदारीमा लमजुङका विभिन्न स्थानीय तहमा शिक्षा, स्वास्थ्य, पोषण, बाल संरक्षण तथा जीविकोपार्जनका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संस्थाले आगामी दिनमा पनि बालबालिकाको समग्र विकास र शैक्षिक उन्नयनका लागि यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।