काठमाडौँ
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको बृहत् प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” आगामी २०८३ साल जेठ २२ देखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने भएको छ । नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सुरक्षित, गुणस्तरीय तथा आधुनिक विद्युतीय सामग्रीको प्रयोगबारे जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ । प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबल तथा कन्डक्टर, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ। आयोजकका अनुसार प्रदर्शनीले विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवद्र्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
प्रदर्शनीको टाइटल स्पोन्सर ट्रान्सवेल्ड ट्रान्सर्फमर (ट्रान्सवेल्ड नेपाल प्रालि) रहेको छ भने पावर बाइमा ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड), प्लेटिनम स्पोन्सरमा जनता केईआई (जनता केबल इन्डस्ट्रिज प्रालि) रहेका छन् । डायमन्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटहाइट इलेक्ट्रीकल्स रहेका छन् भने गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलइडी रहेको छ । अफिसियल बैंकमा नविल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड तथा इन्टरनेट पार्टनरमा सजिलो नेट रहेका छन् । आयोजकका अनुसार प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया