नेपाल लाइफको एएमएल÷सीएफटी प्रशिक्षण सम्पन्न


काठमाडौँ
नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य र आमविनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक एवं सम्पत्ति शुद्धीकरण निवारण विज्ञ डा. हरिकुमार नेपालले बीमा क्षेत्रमा लागू कानुनी व्यवस्था, जोखिम पहिचान तथा व्यवस्थापन, ग्राहक पहिचान प्रक्रिया, शंकास्पद कारोबार पहिचान तथा अन्तर्राष्ट्रिय अभ्यासबारे जानकारी दिनुभयो। कार्यक्रममा कम्पनीका सञ्चालक समिति, आधारभूत शेयरधनी, उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवालले संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा एएमएल÷सीएफटी अनुपालन कम्पनीको दीर्घकालीन स्थायित्वका लागि महत्वपूर्ण रहेको बताउनुभयो। प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले एएमएल÷सीएफटी सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था दैनिक कार्यप्रणालीमै प्रभावकारी रूपमा लागू भइरहेको उल्लेख गर्नुभयो। कम्पनीले यस्ता क्षमता अभिवृद्धि कार्यक्रमलाई निरन्तरता दिँदै वित्तीय अनुशासन, पारदर्शिता तथा अनुपालनलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ ।