इजरायल दूतावासले मनायो इजरायलको ७८औँ स्वतन्त्रता दिवस


काठमाडौं ।

नेपालस्थित इजरायल दूतावासले इजरायलको ७८औँ स्वतन्त्रता दिवस बुत्रबार विशेष समारोहको आयोजना गरी मनाएको छ। नेपालका उपराष्ट्रपति रामसहाय प्रसाद यादव प्रमुख अतिथिको रुपमा रहेको उक्त समारोहलाई सम्बोधन गर्दै नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले यो अवसर इजरायलको राष्ट्रिय यात्राको मात्र नभई नेपाल इजरायलबीचको मित्रता, साझेदारी र साझा आकांक्षाको उत्सवसमेत भएको बताए।


इजरायलले स्थापना कालदेखि नै सीमित स्रोतसाधनलाई नवप्रवर्तनमा रूपान्तरण गर्दै आएको बताउँदै उनले शिक्षा, प्रविधि, कृषि, जल व्यवस्थापन र उद्यमशीलतामा हासिल गरेको अनुभव नेपालसँग साझा गर्न इजरायल तयार रहेको पनि बताए । राजदूत श्मुलिकले नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि आधुनिकीकरण तथा युवाका अवसर विस्तारका प्राथमिकतामा इजरायली अनुभव उपयोगी हुन सक्ने धाराणा राखे ।
माशाभ तालिम कार्यक्रम, हेरचाह ९केयरगिभिङ० क्षेत्र तथा ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायलसँग जोडिएर जीवन र करियरमा सकारात्मक परिवर्तन ल्याएका तीन नेपाली नागरिकका प्रेरणादायी अनुभव समेटिएको भिडियो पनि प्रदर्शन गरिएको थियो।उक्त भिडियोले नेपालमा मानव स्रोत विकास तथा क्षमता अभिवृद्धिमा इजरायलको निरन्तर सहयोगलाई उजागर गरेको दूतावासले जनाएको छ। साथै दूतावासले कार्यक्रममा नेपाल र इजरायलबीचको दीर्घकालीन मित्रता, सहकार्य तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो।

कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट निर्माण गरिएको भिडियोमार्फत इजरायलका नवप्रवर्तन र विश्वलाई पुर्‍याएको योगदान प्रस्तुत गरिएको थियो।
भिडियोमा भाइबर, यूएसबी फ्ल्यास ड्राइभ (पेन ड्राइभ), ड्रिप सिँचाइ प्रणाली, वेज, विश्वकै पहिलो इन्स्ट्यान्ट मेसेजिङ प्लेटफर्म आईसीक्यू, फाइभर, समुद्री पानी प्रशोधन ९डिसालिनेसन० प्रविधि, रिवाक पहिरनयोग्य रोबोटिक्स, पिल क्याम, चेक प्वाइन्ट, मल्टिपल स्क्लेरोसिससम्बन्धी अनुसन्धान तथा हालै ३२ अर्ब अमेरिकी डलरमा बिक्री भएको क्लाउड सुरक्षा कम्पनी ‘विज’ लगायतका नवप्रवर्तन समेटिएका थिए। त्यसैगरी इजरायलले विभिन्न चुनौतीबीच प्रदर्शन गरेको एकता, दृढता र सहनशीलतालाई चित्रण गर्ने अर्को भिडियोसमेत प्रदर्शन गरिएको थियो।


नेपाल सरकारका उच्चपदस्थ अधिकारी, राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रतिनिधि, सञ्चारकर्मी तथा इजरायलका शुभेच्छुकहरूको सहभागिता रहेको उक्त समारोहमा प्रसिद्ध इजरायली संगीतकर्मी एलेक्स पोलाकको सांगीतिक प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।