फिफा विश्वकप २०२६ को उद्घाटन खेल हुने ‘एस्टाडियो सिउडाड डि मेक्सिको’ स्टेडियमको नाम सुन्दा मात्रै पनि फुटबल प्रेमीहरूको मुटुको धड्कन तीव्र हुन्छ । मेक्सिको सिटीको दक्षिणी भेगमा अवस्थित यो ऐतिहासिक रंगशाला फुटबल इतिहासकै सबैभन्दा सनसनीपूर्ण क्षणहरूको जीवित साक्षी हो । ऐतिहासिक रूपमा ‘एस्टाडियो एज्टेका’ नामले चिनिने यो मैदानले विश्व फुटबलका दुई महान खेलाडी पेले र डिएगो म्याराडोनाको हातमा विश्वकप ट्रफी थमाएको छ ।
फिफाको नियमअनुसार विश्वकपमा व्यावसायिक प्रायोजकको नाम राख्न नपाइने भएकाले २०२६ को लागि यसको नाम आधिकारिक रूपमा ‘एस्टाडियो सिउडाड डि मेक्सिको’ राखिएको छ । सन् १९६२ मा ज्वालामुखी चट्टानले भरिएको कडा जमिनमा यसको निर्माण सुरु भएको थियो । दर्शकले मैदानको हरेक कुनाबाट खेल प्रष्ट देख्न सकून् भन्ने उद्देश्यले यसको अद्भूत ‘बाउल’ आकारको डिजाइन तयार पारियो । अन्ततः २९ मे १९६६ मा झन्डै एक लाख दर्शकको उपस्थितिमा यसको भव्य उद्घाटन भयो । यसको विशालकाय स्वरूप र खुला आकाशमुनिको बनोटका कारण यसलाई ‘द कोलोसस अफ सान्ता उर्सुला’ उपनाम दिइयो ।
यो मैदान प्रतिष्ठित क्लब अमेरिका, क्रुज अजुल र मेक्सिको राष्ट्रिय टोलीको होम ग्राउन्ड हो । सन् १९७० मा मेक्सिकोले इतिहासमै पहिलोपटक रंगीन टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको विश्वकप आयोजना गर्दा यो रंगशाला खेलकुदको केन्द्रबिन्दु बन्यो । २१ जुन १९७० का दिन ब्राजिलले इटालीलाई ४–१ ले हराउँदा फुटबलका जादुगर पेलेले यसै मैदानमा तेस्रो पटक विश्वकप ट्रफी उचालेर आफूलाई फुटबलको राजा स्थापित गरे । सोही विश्वकपमा इटाली र पश्चिम जर्मनीबीचको अभूतपूर्व भिडन्तलाई आज पनि ‘शताब्दीको खेल’ (गेम अफ द सेन्चुरी) का रूपमा सम्झिने गरिन्छ । पेलेले विश्वकप उचालेको ठिक १६ वर्षपछि, अर्थात् सन् १९८६ मा यो रंगशाला पुनः विश्वकपको उद्धारक बनेर उभियो ।
समुद्र सतहदेखि करिब २,२०० मिटरको उचाइमा रहेको यस मैदानमा २२ जुन १९८६ मा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेलिएको क्वार्टरफाइनल इतिहासकै सबैभन्दा अविस्मरणीय क्षण बन्यो । उक्त खेलमा म्याराडोनाले आफ्नो देव्रे हातले गोल गर्दै त्यसलाई ‘भगवान्को हात’ (ह्यान्ड अफ गड) को संज्ञा दिए । त्यसको लगत्तै, उनले पाँच जना इंग्लिश डिफेन्डर र गोलकिपरलाई नचाउँदै ‘शताब्दीकै सर्वोत्कृष्ट गोल’ गरे । जर्मनीलाई हराउँदै म्याराडोनाले अर्जेन्टिनालाई विश्वविजेता बनाएपछि यो पेले र म्याराडोना दुवैलाई साम्राज्य सुम्पिने संसारकै एक मात्र रंगशाला बन्यो । हाल ८७,५२३ दर्शक क्षमता भएको ल्याटिन अमेरिकाकै यो सबैभन्दा ठूलो रंगशाला विपक्षी टोलीहरूका लागि सधैँ एउटा डरलाग्दो दुःस्वप्न जस्तै रह्यो ।
फुटबलबाहेक यो मैदान माइकल ज्याक्सन र टेलर स्विफट जस्ता कलाकारहरूको कन्सर्ट तथा एनएफएल खेलहरूको पनि केन्द्र बन्यो । अहिले, पहिलो विश्वकप फाइनलको आधा शताब्दीभन्दा बढी समयपछि यो रंगशाला पुनः नयाँ इतिहास लेख्न तयार छ । सन् २०२६ को फिफा विश्वकपको ऐतिहासिक उद्घाटन खेल आगामी ११ जुन २०२६ मा यसै मैदानमा हुँदैछ, जहाँ घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्नेछ । यसपटक यहाँ समूह चरण, राउन्ड अफ १६ र ३२ का गरी जम्मा ५ रोमाञ्चक खेलहरू खेलाइनेछन् । इतिहासमा कुल २४ वटा विश्वकप खेलहरू आयोजना गर्ने एक मात्र मैदानको रूपमा स्थापित हुँदै गर्दा यो रंगशाला विश्व फुटबलको विगत, वर्तमान र भविष्यको अद्भुत मिलनबिन्दु बनेको छ ।











प्रतिक्रिया