फिफा वल्र्ड कप २०२६ प्रसारण अधिकार नेपालमाः हिमालय स्पोट्र्स र डीजीओमार्फत हेर्न सकिने


काठमाडौँ
आगामी ‘फिफा वल्र्ड कप २०२६’ नेपालमा अब एक्सक्लुसिभ रूपमा हिमालय स्पोट्र्स टेलिभिजन र डीजीओ मोबाइल एपमार्फत प्रसारण हुने भएको छ ।

प्रसारण अधिकार र नयाँ प्लेटफर्म

काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपालमा फिफा वल्र्ड कप प्रसारणसम्बन्धी औपचारिक घोषणा गरिएको हो । अब नेपाली दर्शकले यी दुई प्लेटफर्मको ग्राहक बनेर मात्र विश्वकपका सबै खेल हेर्न सक्नेछन् । नेपालभित्र अन्य कुनै माध्यमबाट प्रत्यक्ष प्रसारण उपलब्ध नहुने जनाइएको छ ।


नेपालका लागि फिफा प्रसारण अधिकार प्राप्त एसप्रो मिडियाले टेलिभिजनतर्फ हिमालय टेलिभिजन नेटवर्क अन्तर्गतको हिमालय स्पोट्र्स च्यानल र मोबाइल एपतर्फ डीजीओसँग एक्सक्लुसिभ सम्झौता गरेको हो ।
एसप्रो मिडियाका अध्यक्ष सोम धितालका अनुसार अब नेपाली दर्शकले विदेशी च्यानलमा निर्भर हुनुपर्ने अवस्था अन्त्य हुँदै नेपाली प्लेटफर्ममै विश्वकप हेर्न पाउनेछन् ।
त्यस्तै, हिमालय टेलिभिजन नेटवर्कका अध्यक्ष धर्मराज भुसालले सब्स्क्रिप्सन मोडलमार्फत विश्वस्तरीय खेल सामग्री नेपालमै उपलब्ध गराउने नयाँ चरण सुरु भएको बताएका छन् ।
कार्यक्रममा खेलकुद अर्थतन्त्र प्रवद्र्धन गर्ने उद्देश्यले हिमालय स्पोट्र्स च्यानल औपचारिक रूपमा शुभारम्भ गरिएको पनि जानकारी दिइयो ।


डीजीओ एप पुनःब्रान्डिङ र शुभारम्भ


सोही अवसरमा पहिले ‘डिसहोम गो’ नाम रहेको मोबाइल एपलाई नयाँ स्वरूप र प्रविधिसहित डीजीओ नाममा पुनःब्रान्डिङ गरेर सार्वजनिक गरिएको हो ।
डिस मिडिया नेटवर्कका अध्यक्ष हेमराज ढकालले प्रविधि, बजार र दर्शक तयार भएकाले विश्वकपलाई अवसरका रूपमा उपयोग गर्दै डीजीओलाई नयाँ रूपमा ल्याइएको बताउनुभयो ।

डीजीओले विश्वभर रहेका नेपाली दर्शकलाई डिजिटल कन्टेन्टमार्फत जोड्ने लक्ष्य राखेको पनि जनाइएको छ ।


शुल्क र ग्राहक बन्ने प्रक्रिया


फिफा वल्र्ड कप हेर्न दर्शकले टेलिभिजनतर्फ हिमालय स्पोट्र्स च्यानल आफ्नो केबल वा टेलिभिजन सेवा प्रदायकमार्फत सब्स्क्राइब गर्नुपर्नेछ। यसका लागि प्रति सेट टप बक्स ९९९ रुपैयाँ (करसहित) शुल्क लाग्नेछ ।
मोबाइल एपमार्फत हेर्न चाहने दर्शकका लागि सीमित अवधिको अर्ली बर्ड अफर अन्तर्गत ग्राहक पास ७९९ रुपैयाँमा उपलब्ध हुनेछ। नियमित रूपमा मोबाइलबाट मात्र हेर्न चाहनेका लागि ५४९ रुपैयाँ (करसहित) शुल्क तोकिएको छ । उक्त शुल्क तिरेपछि दर्शकले विश्वकपका कुल १०४ खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।